आशिष गुरागाई /काठमाडौँ,२४ असोज । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का बागमती प्रदेश सभाका पूर्व सदस्य एवं केन्द्रीय सदस्य कुसुम कुमार कार्कीले पार्टीमा पुनः सक्रिय हुन चाहेका छन्। कार्की, जसले महादिवेशनमा घनश्याम भुसालको पक्षमा खुलेर समर्थन जनाए केही समयदेखि पार्टीका विभिन्न एजेन्डामा असहमति जनाउँदै निस्क्रिय थिए। निस्क्रिय अवस्थाका कारण कतिपयले उनलाई पार्टी नै छोडेको भन्ने अनुमान गरे। तर, आज कपन क्याम्पसमा भएको “कफी गफमा ” उनले पार्टी र राजनीति बारे आफ्ना विचार व्यक्त गर्दै पार्टीमा पुनः सक्रिय हुने योजना प्रस्ट्याएका छन्।
घनश्याम भुसालको पक्षमा उभिने निर्णयले पार्टीमा असहमति
माधवकुमार नेपाल नेतृत्वको एकिकृत समाजवादी पार्टीमा असहमति जनाउँदै कार्की केही समयदेखि पार्टीका एजेन्डाहरू प्रति निस्क्रिय थिए। महादिवेशनका बेला घनश्याम भुसाललाई समर्थन गर्नुले कार्कीको स्थिति पार्टीमा पेचिलो बनायो। विभिन्न नीतिगत र संगठनात्मक कारणहरूलाई मध्यनजर गर्दै उनी केही समयका लागि राजनीतिबाट टाढा बसे। तर, यतिखेर उनले पार्टी अध्यक्ष माधवकुमार नेपालसँग आफ्ना नयाँ योजनाहरू र विचारहरू प्रस्तुत गर्ने तयारी गरिरहेका छन्।
प्रदेश सभा निर्वाचनमा जनमतको सम्मान
कुसुम कुमार कार्कीले आफ्नो प्रदेश सभा निर्वाचन क्षेत्रमा पार्टीको प्रतिष्ठा जोगाउन ८ हजार ३ सय ८२ मत ल्याएका थिए । जसले समाजवादीको पकडलाई बलियो बनायो। काठमाण्डौँ क्षेत्र ४ (२) मा उनको सफलताले स्थानीय स्तरमा समाजवादी विचारधारालाई प्रवर्द्धन गर्ने भूमिका निभाएको छ। यो सफलताले पार्टीमा उनको सक्रिय भूमिका देखाउने आधार दिएको छ जसका कारण उनी पुनः राजनीतिक भूमिकामा फर्कने आँकलन गरिएको हो ।
अन्य दलहरूको प्रस्ताव र व्यवसायमा सक्रियता
कपन क्याम्पसमा भएको भेटघाटमा कार्कीले आफूलाई अन्य राजनीतिक दलहरूबाट प्रस्ताव आएको पनि बताए। उनले भने, “धेरै दलहरूले अफर गरे तर म कतै गएको छैन। अहिले म आफ्नो व्यवसायमा ध्यान दिइरहेको छु।” यद्यपि, उनले अन्य दलहरूको प्रस्ताव अस्वीकार गर्दै आफू एकिकृत समाजवादीमै रहेको स्पष्ट पारे। उनी व्यवसायमा लागे पनि राजनीतिक रूपान्तरणको विषयमा अझै सोचिरहेछन्।
माधवकुमार नेपालसँग भेटको प्रतीक्षा
कार्कीले आफ्नो योजनाहरू प्रस्तुत गर्न पार्टी अध्यक्ष माधवकुमार नेपालसँग भेटको प्रतीक्षा गरिरहेका छन्। उनले पार्टीका संगठनात्मक र नीतिगत विषयहरूमा आफ्ना विचार राख्न चाहेका छन्। उनी आशावादी छन् कि माधवकुमार नेपालले आफ्नो योजनालाई सकारात्मक रूपमा ग्रहण गर्नेछन्। उनले भने, “म माधव कमरेडसँग संगठनिक र नीतिगत विषयमा धारणा राख्ने तयारीमा छु। आशा छ उहाहरूले कुरा बुझ्नु हुनेछ।”
जनता र समाजसँग सम्बन्धित विभिन्न योजनाहरू
कार्कीले बताए कि यदि पार्टीले उनको विचारलाई ग्रहण नगरेको खण्डमा पनि उनीसँग जनतालाई सशक्त बनाउने विविध योजनाहरू छन्। उनले समाजसँग जोडिएका विभिन्न विषय र समस्याहरूलाई सम्बोधन गर्ने लक्ष्य राखेका छन्, जसले स्थानीय स्तरमा राजनीतिक र सामाजिक रूपान्तरण ल्याउने उनको सोचलाई झल्काउँछ।
भविष्यका योजनाहरू: पार्टीमा नयाँ ऊर्जा र दृष्टिकोण
कुसुम कुमार कार्कीले पार्टीमा रहेका युवाहरूलाई प्रोत्साहन गर्दै र नयाँ ऊर्जा भर्ने उद्देश्यका साथ फर्कने संकेत दिएका छन्। उनका यी योजनाहरूले पार्टीलाई नयाँ दिशा दिने र संगठनलाई सशक्त बनाउने संभावना छ। यो नयाँ सक्रियताले पार्टी भित्रको असहमतिहरूलाई सम्बोधन गर्दै एकताको भावनालाई अझ सुदृढ बनाउन सक्ने अपेक्षा गरिएको छ।
कुसुम कुमार कार्कीको पार्टीप्रतिको यो सक्रियता एकिकृत समाजवादीको भविष्यका लागि महत्त्वपूर्ण हुनेछ, किनकि उनीजस्ता अनुभवी र विचारशील नेताहरूको भूमिकाले पार्टीलाई नयाँ उचाइमा पुर्याउन सक्ने विश्वास गरिएको छ।


