कीर्तिपुर उपनिर्वाचन चासो केन्द्रित, प्रमुख र दुई वडाध्यक्ष पदमा भीडन्त

-

काठमाडौँ,२३ असोज । आगामी मंसिर १६ गते देशभरका ४४ स्थानमा हुने उपनिर्वाचनमा कीर्तिपुर नगरपालिकामा चासो केन्द्रित भएको छ। नगरप्रमुखसहित वडा नं १ र वडा नं ४ का वडाध्यक्ष पदका लागि हुने यो निर्वाचनमा विभिन्न दल र स्वतन्त्र उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ।

कीर्तिपुर नगरप्रमुख पदका लागि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, र राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार छनोटलाई तीव्रता दिएका छन्। प्रमुख पदमा नेपाली कांग्रेसको नगरसभापति कृष्णमान डंगोलसहित ११ जनाको नाम सिफारिस गरिएको छ। अन्य आकांक्षीमा दिवङ्गत प्रमुख राजकुमार नकर्मीकी धर्मपत्नी जमुना नकर्मी, महिला नेतृ सङ्गीता बोगटी र पूर्व नगरसभापति बद्रीलाल महर्जन रहेका छन्। राजकुमार नकर्मीको मिर्गौलासम्बन्धी समस्याको उपचारको क्रममा निधन भएपछि नगरप्रमुखको पद रिक्त भएको थियो।

नेकपा एमालेले डा. सुरेन्द्र मानन्धरलाई नगरप्रमुखको उम्मेदवार बनाउने निर्णय गरेको छ। यसैगरी वडा नं १ का लागि हर्षमान महर्जन र वडा नं ४ का लागि बद्री बुढाथोकीलाई अघि सार्ने तयारी गरेको छ। एमालेले पछिल्लो स्थानीय चुनावमा गुमाएको साख फर्काउन कीर्तिपुरमा बलियो उपस्थिति देखाउन चाहन्छ।

नेकपा माओवादी केन्द्रले नगरप्रमुखमा प्राध्यापक डा. शिवशरण महर्जनलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको छ भने वडा नं १ र ४ मा अष्टमान महर्जन र नारायण विष्टलाई अघि सारिएको छ।

स्वतन्त्र उम्मेदवारमा सफाइ अभियन्ता राजमान मानव, भाषा अभियन्ता नरेश श्रेष्ठ र स्थानीय प्रजातन्त्रवादी अभियन्ता कवि महर्जनले नगरप्रमुख पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

कीर्तिपुरको यस निर्वाचनमा प्रमुख दलहरूका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ, जसमा जनताले नेतृत्व छान्ने अवसर पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य