महोत्तरी, २० कार्तिक । मिथिलाञ्चलसहित मधेस क्षेत्रमा चारदिने छठ पर्व आजदेखि धार्मिक विधिपूर्वक सुरु भएको छ। विशेष गरी तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत जिल्लामा धुमधामका साथ मनाइने यो पर्व देशका ठूला सहर काठमाडौं, पोखरा, नारायणघाट, धरानलगायतमा पनि विस्तार भएको छ।
चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिनलाई ‘नहा खा’ भनिन्छ, जसमा व्रतालुहरूले शुद्धताका लागि नुहाउँछन्। दोस्रो दिन ‘खर्ना’मा निराहार व्रत बसेर राति विशेष पूजा गरिन्छ। तेस्रो दिन, व्रतालुहरूले गहुँ र चामलबाट बनेका ठेकुवा, फलफूल आदि अर्पण गर्दै अस्ताउँदो सूर्यलाई अर्घ्य दिन्छन्। अन्तिम दिन, बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर पर्वको समापन गरिन्छ।
छठ पर्वले धार्मिक आस्थासँगै सामाजिक सद्भावको पनि प्रतीक बोकेको छ। हिन्दूहरूसँगै मुस्लिम समुदायले समेत श्रद्धापूर्वक मनाउने यस पर्वमा विशेष गरी पोखरी र नदी किनारमा भक्तजनको भीड लाग्ने गर्छ।


