रवी न्यायिक हिरासतमा पुग्दा राष्ट्रिय स्वतन्त्र पार्टीमा नेतृत्वको संकट

-

काठमाडौँ, १९ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने प्रहरी हिरासतमा पुगेपछि पार्टीको नेतृत्वमा अस्थिरता उत्पन्न भएको छ। लामिछानेको अनुपस्थितिमा पार्टीको निर्णय प्रक्रियामा धक्का लागेको छ भने नेतृत्वमा स्पष्टता नदेखिएको भन्दै पार्टीभित्र खल्बली मच्चिएको छ। यसबीच उपसभापति डोलप्रसाद (डीपी) अर्यालको गतिविधिले पार्टीमा थप विवाद र आलोचनाको भुमरी उत्पन्न गरेको छ।

रवि लामिछाने पक्राउ परेपछि रास्वपाले आफ्ना नेताको रिहाइका लागि सडक प्रदर्शनको मार्ग अपनाउने निर्णय गर्‍यो। तर, अदालतले फौजदारी अनुसन्धानका लागि थुनामा राख्न आदेश दिएपछि पार्टीले अपनाएको दबाब रणनीति प्रभावकारी बन्न सकेन। रास्वपाका नेताहरू पोखरामा प्रदर्शनको नेतृत्व गर्न गएका थिए भने  प्रभावकारी नतिजा नआएपछि उनीहरू काठमाडौँ फर्किए। त्यसपछि काठमाडौँमा उपलब्ध नेताहरूले बैठक गरी दुई उपसभापतिलाई पार्टीको संघर्षका दुई मोर्चा सम्हाल्ने जिम्मेवारी दिए। उपसभापति डीपी अर्याललाई सडक संघर्षको मोर्चा सम्हाल्ने जिम्मेवारी दिइयो भने स्वर्णिम वाग्लेले राजनीतिक संवादको मोर्चा सम्हाल्ने भए।

तर, केही समयमै यो निर्णयमाथि नै प्रश्न उठ्यो, किनकि डीपी अर्यालको गतिविधि निर्धारित भूमिकासँग मेल खाँदैनथ्यो। सडक संघर्षको जिम्मा पाएका अर्यालको ध्यान भने राजनीतिक छलफलतर्फ मोडिएको देखियो। तिहारको देउसीभैलो शुरू हुनु अघि नै उनी सरकारका शीर्ष नेताहरूसँग भेटघाटमा व्यस्त देखिए। सिंहदरबार र बालुवाटारका शक्तिकेन्द्रहरूमा नेताहरूलाई भेट्न थालेपछि डीपी अर्यालले पार्टीभित्रको असन्तोषलाई झन् बलियो बनाए। पार्टीभित्र उनको यो कदमलाई ‘सडक संघर्षको कार्यक्रम तुहाएर सत्ता प्राप्तिका लागि राजनीतिक सौदा गर्न खोजेको’ भनेर आलोचना गरियो।

डीपी अर्यालको आलोचना झन् पेचिलो बन्नुको कारण भने उनको व्यक्तिगत सन्देश सार्वजनिक हुनु थियो। सार्वजनिक सन्देशमा डीपीले परराष्ट्रमन्त्री आरजु राणालाई भेट्न समय मिलाइदिन आग्रह गरेको देखियो। सन्देशमा उनले परराष्ट्रमन्त्रीका सहयोगी कमल रावललाई ‘मन्त्रीज्यूसँग सर्ट मिटिङ (संक्षिप्त भेट)को समय मिलाइदिनू’ भन्दै अनुरोध गरेका थिए। सन्देश सार्वजनिक भएपछि पार्टीभित्र र बाहिर यस विषयमा विभिन्न अड्कल र टिप्पणी सुरू भयो। फोटोमा डीपी अर्यालले आफ्नो मोबाइलमा सन्देश देखाउँदै गरेको देखिन्छ, जसले यो फोटो कसले खिच्यो र किन सार्वजनिक गर्‍यो भन्ने प्रश्न जन्मायो।

डीपी अर्यालले सार्वजनिक सन्देशको खण्डन नगरी आफूविरुद्ध एकपक्षीय प्रचार गरिएको र गोपनीयतामाथि आक्रमण भएको दाबी गरे। उनले आफूविरुद्ध नियोजित रूपमा अनधिकृत रूपले गोपनीयता भंग गरिएको भन्दै कानुनी उपचार खोज्ने चेतावनी दिएका छन्। उनले मुलुकी अपराधसंहिता २०७४ को दफा २९३, २९७ र २९८ अनुसार अन्य व्यक्तिको गोपनीय सूचना अनधिकृत रूपले सार्वजनिक गर्नु कानूनी अपराध भएको पनि बताएका छन्।

उनले सामाजिक सञ्जालमा लेखेको एक टिप्पणीमा भनेका छन् “केही दिनयता प्रधानमन्त्री, मन्त्री र विभिन्न दलका नेतासँग मैले गरेको भेटघाटलाई लिएर सामाजिक सञ्जालमा भइरहेको टिप्पणीप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। सभापति कानुनी प्रक्रियामा हुनुहुन्छ, र हामी उहाँले न्याय पाउनेमा विश्वस्त छौँ। पार्टीको जिम्मेवारी सम्हाल्दै विभिन्न नेताहरूसँग छलफल गर्नु हाम्रो दायित्व हो। तर, एकपक्षीय प्रचार र गोपनीयतामाथि आक्रमण गरिएकोप्रति म दुःखित छु।”

डीपीको यस्तो बयानले संकेत गर्दछ कि उनी यो सन्देश सार्वजनिक गर्ने व्यक्ति पार्टीभित्रकै कुनै निकट सदस्य भएको अनुमान गरिरहेका छन्। पार्टीभित्र उनको क्रियाकलापप्रति असन्तुष्टि रहेको र कुनै खेमाले उनलाई निगरानी गरिरहेको संकेत पनि भेटिएको छ।

पार्टीमा यस्तो विवादका बीच उपसभापति अर्यालले भने आफूलाई लागेका आरोपको खण्डन गर्दै, आफ्नो जिम्मेवारी निर्वाह गरेको बताए। तर, पार्टीभित्रकै असन्तुष्ट समूह उनको नेतृत्वलाई मान्यता दिन इच्छुक छैन।

अब यो विवाद कानुनी प्रक्रियामा लैजान डीपी अर्याल तयार छन् कि छैनन्, त्यो भने समयले बताउनेछ। यदि उनी कानुनी उपचारका लागि प्रहरीमा निवेदन दिने निर्णय गर्छन् भने यो मुद्दाले नयाँ मोड लिने सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य