काठमाडौँ, ९ कार्तिक । बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ९ ले तिहार, छठ, र लोछार पर्वको अवसरमा शुभकामना आदान-प्रदान कार्यक्रम आयोजना गरेको सम्पन्न गरेको छ । कार्यक्रममा नगर उपप्रमुख अनिता लामा प्रमुख अतिथि थिइन् भने विशेष अतिथिका रूपमा नेपाल प्रहरीका निरीक्षक लक्ष्मण देबकोटा एवंम् नगरपालिकाका छिमेकी वडाका वडा अध्यक्ष सहभागी थिए। कार्यक्रममा स्थानीय समाजसेवी, युवा, खेलाडी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको पनि उल्लेखनीय उपस्थिति थियो।
उपप्रमुख लामाले उपस्थित सबैलाई तिहार, छठ र लोछारको शुभकामना दिँदै यी चाडपर्वहरूले स्थानीय समुदायमा शान्ति, एकता, र समृद्धि कायम गर्ने विश्वास व्यक्त गरिन्। साथै, उनले बुढानीलकण्ठ नगरपालिकाले सामाजिक, आर्थिक, र सांस्कृतिक समृद्धिका लागि अगाडि बढाउँदै गरेको प्रयासमा सबैको सहयोग आवश्यक रहेको बताइन्।
नेपाल प्रहरीका निरीक्षक लक्ष्मण देबकोटाले शान्ति सुरक्षा सुनिश्चित गर्न सबैको सहभागिता आवश्यक रहेकोमा जोड दिए। उनले स्थानीय समुदायको सहयोगले मात्रै शान्ति र सुरक्षा सुदृढ गर्न सकिने बताए र समाजमा शान्ति र कानूनी व्यवस्था कायम राख्न प्रहरी सदैव प्रतिबद्ध रहेको जानकारी गराए।
यसै क्रममा नगर कपमा उत्कृष्ट प्रदर्शन गर्ने वडा नम्बर ९ का खेलाडीहरूलाई सम्मान प्रदान गरिएको थियो। विभिन्न खेलकुद प्रतियोगितामा उत्कृष्ठ खेल प्रदर्शन गरेर वडाको गौरव बढाएका खेलाडीहरूलाई प्रशंसा पत्र र पुरस्कार प्रदान गरिएको हो, जसले स्थानीय युवाहरूलाई खेलकुदमा अभिप्रेरित गर्ने अपेक्षा गरिएको छ।
कार्यक्रमको अन्त्यमा वडा अध्यक्ष सुमित्रा त्रिपाठीले वडाले प्रदान गरिरहेको स्वास्थ्य बीमा तथा मनोचिकित्सक सेवाबारे जानकारी दिँदै यसलाई नियमित रूपमा उपयोग गर्न स्थानीयलाई आग्रह गरिन्। कार्यक्रममा स्थानीयको उत्साहजनक सहभागिताले चाडपर्वको रौनकता थप उजागर गरेको थियो।