काठमाडौं,२० असोज । नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहले भुटानको औपचारिक भ्रमण सम्पन्न गरेका छन्। भुटानी राजा जिग्मे खेसर नाम्गेल वाङचुकको विशेष निमन्त्रणामा पूर्वराजा ज्ञानेन्द्र ५ सदस्यीय टोलीसहित भुटान गएका थिए। भ्रमणको क्रममा पूर्वराजाले भुटानी राजासँग राजप्रसादमा विशेष भेटवार्ता गरेका छन्। उक्त भेटवार्तामा भुटानी राजाले पूर्वराजा ज्ञानेन्द्रलाई न्यानो अंकमालसहित स्वागत गरेका थिए।
यो भेटमा पूर्वराजाकी सुपुत्री प्रेरणा शाह र भतिजी शिताष्मा शाहको पनि उपस्थिति रहेको थियो। भुटानी राजाले पूर्वराजा र उनको परिवारलाई सम्मानका साथ राजप्रसादमा स्वागत गर्दै भव्य आतिथ्य प्रदान गरेका थिए। यो भेटवार्ता दुई देशबीचको सम्बन्धलाई अझ मजबुत बनाउन सकिने संकेतको रूपमा लिइएको छ, यद्यपि औपचारिक रूपमा कुनै ठोस सम्झौता भएको समाचार भने आएको छैन।
पूर्वराजा ज्ञानेन्द्रले भुटान भ्रमणको क्रममा विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरूमा पनि सहभागिता जनाएका थिए। उनले भुटानको ऐतिहासिक स्थलहरूको भ्रमण गर्दै त्यहाँका जनतासँग पनि भेटघाट गरेका छन्। भुटान सरकारले पूर्वराजालाई विशेष अतिथिको रूपमा स्वागत सत्कार गरेको थियो। भ्रमणका क्रममा दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई स्मरण गरिएको र आपसी मित्रताको भावना अभिवृद्धि भएको बताइएको छ।
पूर्वराजा ज्ञानेन्द्रको यो भ्रमणलाई नेपालको सन्दर्भमा पनि विशेष चासोका साथ हेरिएको छ। उनी आज बिहान काठमाडौँ फर्किएका छन्। भुटानको यो औपचारिक भ्रमणले नेपाल र भुटानबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने अपेक्षा गरिएको छ।


