काठमाडौँ ,८ असोज। विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ। न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले प्रसाईंका छोरा निराजन प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी गरेको हो।
दुर्गा प्रसाईंले आफूलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट मार्फत अन्तरिम आदेशको माग गरेका थिए। तर, अदालतले उनको रिहाइ सम्बन्धी मागलाई अस्वीकार गर्दै थुनामा राखिएको कारणबारे सरकारसँग स्पष्टिकरण मागेको छ।
प्रसाईंलाई साइबर अपराधसम्बन्धी उजुरीको आधारमा प्रहरीको साइबर ब्युरोले भक्तपुरस्थित उनको निवासबाट गत आइतबार पक्राउ गरेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य टीका संग्रौला (ज्वाला) लगायतले प्रसाईंविरुद्ध साइबर क्राइमको आरोप लगाउँदै जाहेरी दिएका थिए।
जिल्ला अदालत काठमाडौँले आइतबार नै प्रसाईंमाथि थप अनुसन्धान गर्न तीन दिन हिरासतमा राख्न अनुमति दिएको थियो। सोमबार साइबर ब्युरोले उनलाई वीर अस्पतालबाट लगेर बयान लिएको छ। प्रसाईंले आफू अस्वस्थ रहेको दाबी गर्दै अस्पतालमा बसिरहेका छन्।
साइबर अपराधको अनुसन्धान भइरहेको अवस्थामा सर्वोच्च अदालतको आदेशले प्रसाईंको रिहाइ तत्काल सम्भव नहुने देखिएको छ।