काठमाडौँ ,७ असोज। बुढानीलकण्ठ नगरपालिकाको न्यायिक समितिमा प्राप्त विभिन्न मुद्दाहरूमा छलफल गरी महत्वपूर्ण निर्णय र आदेशहरू जारी भएका छन्। न्यायिक समितिको सोमबार बसेको बैठकमा कुल नौ वटा मुद्दामा छलफल गरी आदेश दिइएको हो। यी मुद्दाहरू मुख्यतया बैना लेनदेन, अंश विवाद, जग्गा खिचोला, मानाचामल भराई, ध्वनि प्रदूषण, र पर्खाल विवादसँग सम्बन्धित थिए।
बैठकमा पहिलो मुद्दा बैना लेनदेन सम्बन्धी थियो, जसमा मेलमिलापको लागि समय थप माग बमोजिम अर्को मितिमा पेशी तोकिएको छ। अंश विवाद सम्बन्धमा मेलमिलापका लागि एक महिनाको थप समय दिइएको छ। जग्गा खिचोला सम्बन्धमा दोस्रो पक्षलाई अन्तिम पटक छलफलका लागि समय दिइएको छ।
मानाचामल भराई सम्बन्धमा भने समितिले मानाचामल भराउने आदेश जारी गरेको छ। यस्तै, मिलापत्र कार्यान्वयन सम्बन्धी मुद्दामा दोस्रो पक्षको अनुपस्थितिका कारण दुवै पक्षलाई अर्को पेशीमा उपस्थित गराउने निर्णय भएको छ।
एक अन्य मुद्दामा जग्गाको बैना रकम फिर्ता सम्बन्धमा मिलापत्र कार्यान्वयन गर्न दुवै पक्ष सहमत भएका छन्। ध्वनि प्रदूषण सम्बन्धमा भने समितिले प्राविधिक सहित स्थलगत निरीक्षण गरी प्रतिवेदन पेश गर्न आदेश दिएको छ।
जग्गा खिचोला सम्बन्धमा, दोस्रो पक्षले बनाएको विवादित पर्खाल हटाई अदालतमा जान सुझाव दिइएको छ। अन्त्यमा, बैना रकम फिर्ता सम्बन्धमा मिलापत्र गरिनुका साथै मुद्दा टुंगिएको छ।
न्यायिक समितिले यी सबै मुद्दाहरूमा मिलापत्र र कानूनी प्रक्रिया अगाडि बढाउनका लागि महत्वपूर्ण कदमहरू चालेको छ। नागरिकहरूको समस्या समाधान गर्दै समितिले कानूनी र न्यायिक प्रक्रिया सरल बनाउने लक्ष्य राखेको छ।


