शंखरापुरमा ४५ औं विश्व पर्यटन दिवस मनाउने तयारी, बागमती प्रदेश सरकारको विशेष कार्यक्रम आयोजना

Categories:

-

काठमाडौँ ,७ असोज। बागमती प्रदेश सरकार, संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयको आयोजनामा ४५ औं विश्व पर्यटन दिवस २०२४ “पर्यटन, न्याय र शान्ति” भन्ने मूल नाराका साथ विशेष कार्यक्रमको तयारी भइरहेको छ। असोज ११ गते (सेप्टेम्बर २७) शंखरापुरको सांस्कृतिक महत्व झल्किने यस कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा (तामाङ) को प्रमुख आतिथ्यतामा विविध सांस्कृतिक झाँकी र र्याली हुनेछ।

यस वर्षको विश्व पर्यटन दिवस मनाउने स्थानका रूपमा शंखरापुर नगरपालिकालाई छनोट गर्नुको मुख्य कारण यस क्षेत्रको सांस्कृतिक, ऐतिहासिक र धार्मिक महत्त्वलाई उजागर गर्नु हो। साँखुका पुरातात्त्विक सम्पदाहरू, जस्तै शालिनदी, बज्रयोगिनी, मणिचूड र चाँगुनारायण मन्दिर, क्षेत्रीय पर्यटनको प्रवर्द्धनका लागि मुख्य आकर्षण मानिन्छन्। बागमती प्रदेश सरकारका अनुसार, यस कार्यक्रमले प्रदेशमा रहेका १३ जिल्लाको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने विश्वास लिइएको छ।

आज आयोजित पत्रकार सम्मेलनमा संस्कृति, पर्यटन तथा सहकारी मन्त्री विमल ठकुरीले कार्यक्रमको औचित्यबारे प्रकाश पारे। मन्त्री ठकुरीले यस कार्यक्रमले बागमती प्रदेशमा पर्यटन विकासको दिशामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए। उनले प्रदेशमा रहेका विभिन्न प्राकृतिक, ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनको आवश्यकता औँल्याउँदै पर्यटन क्षेत्रलाई प्रदेशको आर्थिक विकासको आधार बनाउनुपर्ने कुरामा जोड दिए। ठकुरीले भने, “नेपालको आर्थिक विकासमा पर्यटन क्षेत्रको भूमिका महत्त्वपूर्ण छ। बागमती प्रदेशमा रहेका पर्यटन क्षेत्रको समुचित विकास र प्रवर्द्धनमार्फत यसलाई प्रदेशको समग्र आर्थिक समृद्धिमा उपयोग गरिनेछ।”

गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसालले पनि कार्यक्रममा मन्तव्य व्यक्त गर्दै मन्त्री ठकुरीलाई धन्यवाद दिए। उनले यस प्रकारको नौलो कार्यक्रमले शंखरापुर नगरपालिकामा पर्यटनको विकासलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे। यस्तै, शंखरापुर नगरपालिकाका प्रमुख रमेश नापितले पनि आफ्नो नगरपालिकामा यस्तो महत्त्वपूर्ण कार्यक्रम आयोजना गरेकोमा बागमती प्रदेश सरकारलाई धन्यवाद दिए।

कार्यक्रमका प्रमुख आकर्षणहरूमा विभिन्न जातजातिका मौलिक सांस्कृतिक झाँकीहरू, परम्परागत कला प्रदर्शन, र्याली र साँखु परिक्रमा रहेका छन्। पुरानो बसपार्कबाट सुरु भएर साँखुका प्रमुख स्थलहरू परिक्रमा गर्ने र्याली ११:३० बजे सुरु हुनेछ, जसले साँखुको सांस्कृतिक र ऐतिहासिक महत्त्वलाई प्रकट गर्नेछ। कार्यक्रमको औपचारिक उद्घाटन दिउँसो १२:३० बजे पुखुलाछी, शंखरापुर-७ मा हुनेछ।

प्रदेश सरकारको अनुसार, यस कार्यक्रमले पर्यटन प्रवर्द्धनसँगै शंखरापुर क्षेत्रको सांस्कृतिक र ऐतिहासिक धरोहरको संरक्षण र विकासमा पनि महत्त्वपूर्ण योगदान दिनेछ। कार्यक्रममा सहभागी भएर यसको प्रचारप्रसार गर्न र पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउन सञ्चारकर्मीहरूलाई विशेष आग्रह गरिएको छ।

विश्व पर्यटन दिवसको यस कार्यक्रमले प्रदेशभरिका पर्यटन गन्तव्यहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ। साथै, यसले प्रदेशको ग्रामीण क्षेत्रसम्म पर्यटन विकासको प्रतिफल पुर्याउन टेवा पुर्याउने छ। बागमती प्रदेश सरकारका अनुसार, सीमित स्रोत साधनको अधिकतम उपयोग गर्दै प्राथमिकताका साथ पर्यटन विकासका योजनाहरू कार्यान्वयन गरिनेछ।

कार्यक्रम सम्पन्न भएपछि बागमती प्रदेश सरकारले आगामी दिनमा पनि यस प्रकारका पर्यटन प्रवर्द्धनसम्बन्धी कार्यक्रमहरूलाई निरन्तरता दिने योजना बनाएको छ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य