काठमाडौं, भदौ २७ – काठमाडौंको बूढानीलकण्ठ नगरपालिका वडा नं.-८ मा अवस्थित ऐतिहासिक जगन्नाथ मन्दिरलाई अब “जगन्नाथ धाम” को रूपमा विकास गरिने भएको छ। रविन अधिकारीको नेतृत्वमा मन्दिरको जिर्णोद्वार र संरक्षणको कार्य अघि बढाउने घोषणा गरिएको छ।
जगन्नाथ मन्दिरमा आयोजित एक धार्मिक सभामा महन्त पिठाधिपती श्रीश्रीश्री १००८ जगद्गुरु रामानुजाचार्य श्री हिमालय बाबाको उपस्थिमा भक्तजनलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन्। सो अवसरमा जगद्गुरुलाई बाजागाजासहित भव्य स्वागत गरिएको थियो। उनले जगन्नाथ मन्दिरको जिर्णोद्वारमा रविन अधिकारीको प्रयासको प्रशंसा गर्दै, बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी र प्रशासकीय अधिकृत तुल्सिराम अर्याललाई धन्यवाद दिए।
सभामा जगद्गुरुले जगन्नाथ धाम निर्माणका लागि १९ रोपनी सार्वजनिक जग्गामा धर्मशाला बनाउने लक्ष्य रहेको बताए। उक्त धर्मशालामा काठमाडौं आउने विभिन्न व्यक्तिहरूलाई निःशुल्क भोजन र आवासको व्यवस्था गरिनेछ। नगरपालिकाले यस योजनामा पूर्ण सहयोग गर्ने वचन दिएको समेत उनले उल्लेख गरे।
जगन्नाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रविन अधिकारीले मन्दिरको जिर्णोद्वार र जगन्नाथ धाम निर्माणको कामलाई तीव्रताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। उनले सामाजिक उत्थान र अध्यात्मिक विकासमा आफू सधैं अग्रसर रहेको भन्दै, यो परियोजना धार्मिक, सांस्कृतिक, र सामाजिक विकासका लागि महत्वपूर्ण हुने बताए।
यस धार्मिक सभामा स्थानीय समाजसेवी, नगरप्रमुख मिठाराम अधिकारी, प्रमुख प्रशासकीय अधिकृत तुल्सिराम अर्याल, र अन्य स्थानीय बासिन्दाहरूको बाक्लो उपस्थिति रहेको थियो।


