काठमाडौं,२५ भदौ ।विशेष अदालतले बहुचर्चित मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारसम्बन्धी मुद्दामा चार जनालाई दोषी ठहर गरेको छ। अदालतले इटालियन निर्माण कम्पनी सीएमसीलाई पनि भ्रष्टाचारमा संलग्न रहेको ठहर गर्दै दोषी करार गरेको छ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू तेजनारायण सिंह राई तथा मुरारीबाबु श्रेष्ठको इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा दायर मुद्दामा १० जनालाई सफाइ दिएको छ भने चार जनालाई दोषी ठहर गरेको हो। दोषी ठहर गरिएका चार जनामा पूर्व सचिव गजेन्द्र ठाकुर, तत्कालीन कार्यकारी निर्देशक रामचन्द्र देवकोटा, सूर्यराज कँडेल र परामर्शदाता इप्टिसाका टीम लिडर शिवकुमार शर्मा रहेका छन्।
अदालतले गजेन्द्र ठाकुर र सूर्यराज कँडेलसँग १० करोड १० लाख ६१ हजार ७५ रुपैयाँ बिगो माग गरेको छ। यस्तै, रामचन्द्र देवकोटा र शिवकुमार शर्मासँग २ करोड ९५ लाख ६५ हजार ६०३ रुपैयाँ बिगो भराउने आदेश दिएको छ। इप्टिसा र बेट्स (बीईटीएस) नामक परामर्शदाता कम्पनीसँग ६ करोड २१ लाख ९३ हजार ५९६ रुपैयाँ बिगो तोकिएको छ।
इटालियन निर्माण कम्पनी सीएमसीलाई भ्रष्टाचारको मतियार ठहर गर्दै सजाय तोक्नका लागि अदालतले असोज ७ गतेको पेशी तोकेको छ।
यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० फागुनमा भ्रष्टाचारको आरोपमा तीन पूर्व सचिवसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। तर, विशेष अदालतले मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड अध्यक्ष डा. सञ्जय शर्मा, भीमप्रसाद उपाध्याय लगायत १० जनालाई सफाइ दिएको छ।
मेलम्ची आयोजना नेपालका लागि महत्वपूर्ण परियोजना मानिन्छ, जसको सम्पन्न हुन लामो समय लागेको थियो।


