काठमाडौं,२३ भदौ । सुन्दरीजलमा मृत अवस्थामा फेला परेकी युवतीको हत्या भएको खुलेको छ। प्रहरीले दिएको जानकारी अनुसार हत्या भएकी युवती सिरहाकी राम दुलारी थिइन्, जो हाल काठमाडौंको बसुन्धारा क्षेत्रमा बस्दै आएकी थिइन्। प्रहरीले हत्याको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सर्लाही चक्रघट्टा गाउँपालिका–३ का ४० वर्षीय रामविनय महरा र बसगरिया गाउँपालिका–५ का २४ वर्षीय सन्तोष राम महरा छन्।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, रामविनय र राम दुलारी दुई वर्षदेखि प्रेम सम्बन्धमा थिए। रामविनय पेशाले जुत्ता सिलाउने काम गर्थे भने राम दुलारी ज्याला मजदुरी गर्थिन्। उनीहरू बीच असमझदारी बढेपछि रामविनयले आफ्नो साथी सन्तोषसँग मिलेर राम दुलारीको हत्या गर्ने योजना बनाएको पाइएको छ।
प्रहरीको अनुसार, रामविनय र सन्तोषले राम दुलारीलाई सुन्दरीजल पुर्याएर पहाडको डिलबाट धकेल्दै बोक्सेदहमा खसालेका थिए। त्यसपछि उनीहरूले ढुंगाले टाउकोमा प्रहार गरी उनको हत्या गरेका थिए।
प्रारम्भिक अनुसन्धानले यो घटनाको पुष्टि गरेपछि प्रहरीले थप अनुसन्धान जारी राखेको छ।


