बुढानिलकण्ठका मेयरले जलप्रवाह व्यवस्थापनमा कमजोरी स्वीकारे, नयाँ योजना ल्याउने घोषणा

Categories:

-

काठमाडौँ,२० भदौ । बुढानिलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीले नगरमा पानी व्यवस्थापनका समस्याहरूको बारेमा स्पष्ट रूपमा बोलेका छन्। उनले वर्षाका बेला छतबाट झरेको पानीले शहर डुबानमा परेको बताउँदै, पानी जमिनमा सोस्न नपाउँदा नगर सधैं जलमग्न  हुने समस्या भएको स्वीकार गरे। अधिकारीले यस समस्याको समाधानका लागि ‘एक घर, एक रिजर्व ट्यांकी’ कार्यक्रम ल्याउने घोषणा गरेका छन्।

मेयर अधिकारीले आफ्नो विचार ‘DSA Star Nepal-2024 Session-14’ को पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रिय नाचघर, जमलमा व्यक्त गरेका थिए। उनले भने, “हिजो म यहाँबाट शिक्षकहरूको कार्यक्रम सकेर बुढानिलकण्ठ फर्किंदै थिएँ। ठुलो जाम भएको रहेछ। के कारण हो भनेर हेर्दा, छतबाट पानी सडकमा बगेर जाम भएको रहेछ। यो हाम्रा विकासका मोडेलहरूको असफलता हो।”

मेयर अधिकारीले बुढानिलकण्ठ नगरपालिकामा भएका विकासका योजनाहरूमा पानी सोस्न नपाउने कारणले जलमग्न  भएको बताए।

बुढानिलकण्ठमा चाखुन्चा, यज्ञमति, र लुडेखोला जस्ता आधा दर्जन खोलाहरूलाई बक्स कल्भर्ट प्रयोग गरी पुरेर निर्माण गरिएको छ, जसले गर्दा खोलाहरू अब खुला रूपमा बहाव गर्न सक्दैनन्। यसले वर्षाका समयमा पानी छतबाट बगेर सडकमा पुग्दा जमिनमा सोसिने प्रक्रिया रोकिएको छ, जसले गर्दा सडकमा पानी जम्ने र ट्राफिक जामको समस्या हुने गरेको छ।

अधिकारीले भने, “आजभोलि हाम्रो विकासको तरिका फरक छ। छतबाट पानी झर्यो भने सडकमा बग्छ, खोलामा पुग्छ। तर, जमिनले पानी सोस्न पाउँदैन। त्यसैले यो समस्या समाधान गर्न हामीले ‘एक घर, एक रिजर्व ट्यांकी’ कार्यक्रम ल्याउने तयारी गरिरहेका छौं।”

यो योजना अन्तर्गत, हरेक घरमा वर्षाको पानी संकलन गर्ने ट्यांकी निर्माण गर्न नगरपालिकाले योजना अघि बढाउनेछ। यसले पानीको नष्ट हुने प्रक्रिया रोक्ने मात्र नभई, जलस्रोतको संरक्षणमा समेत मद्दत गर्नेछ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य