काठमाडौँ,१९ भदौ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहका समर्थकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेसबुकमा अनफलो गर्ने अभियान सुरु गरेका छन्। मंगलबार मेयर बालेनले गरेको स्टाटस फेसबुकबाट हटाइएको भन्ने दाबीपछि यो विवाद बढ्दै गएको छ।
बालेनका समर्थकहरूका अनुसार, फेसबुकले बालेनको स्टाटस कसैले रिपोर्ट गरेपछि हटाएको हो। यस घटनापछि बालेनले अर्को स्टाटस पोस्ट गर्दै, आफ्नो पोस्ट हटाउनुको सट्टा दोषीलाई कारबाही गर्नुपर्ने धारणा व्यक्त गरे। बालेनले पोस्ट हटाइएको विषयलाई सरकारको हस्तक्षेपको रूपमा देखेका छन्, जसले गर्दा उनका समर्थकहरूले प्रधानमन्त्री ओलीलाई फेसबुकमा अनफलो गर्ने अभियान थालेका हुन्।
मंगलबार केपी शर्मा ओलीको फेसबुक पेजमा ६ लाख ६६ हजार फलोअर्स थिए, तर बुधबार बिहानसम्म यो संख्या घटेर ६ लाख २ हजारमा झरेको छ।
यस विवादको जड भदौ १६ गतेको एउटा पोस्ट हो, जसमा बालेनले एमालेकी प्रदेश सांसद रेखा शर्मामाथि नाबालिकालाई घरेलु कामदार राखेर हिंसा गरेको आरोप लगाएका थिए। बालेनले सांसद शर्मामाथि कुनै कारबाही नभएको भन्दै प्रधानमन्त्री ओलीमाथि आक्रोश व्यक्त गरेका थिए।
यो घटनाले मेयर बालेन शाह र प्रधानमन्त्री केपी शर्मा ओलीबीचको टकरावलाई नयाँ मोडमा पुर्याएको छ, जहाँ अब समर्थकहरू एक अर्काको पेज अनफलो गर्दै आफ्नो असन्तुष्टि जनाइरहेका छन्।


