प्याब्सन अन्तर विद्यालय तीज नृत्य प्रतियोगितामा भ्याली भ्यु स्कुल प्रथम

-

काठमाडौं,१७  भदौ ।  निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) जिल्ला कार्यसमिति काठमाडौंले नेपाल सांस्कृतिक संस्थान (राष्ट्रिय नाच घर) जमलमा आयोजना गरेको प्याब्सन अन्तर विद्यालय तीज विशेष नृत्य प्रतियोगिताको ११औं संस्करण-२०८१ मा गत वर्षको विजेता विद्यालय मध्य-बानेश्वरस्थित भ्याली भ्यु स्कुलले नै प्रथम स्थान प्राप्त गरेको छ।

प्रतियोगितामा सहभागी जम्मा ७९ विद्यालयसँग प्रतिस्पर्धा गर्दै भ्याली भ्यु स्कुल प्रथम भएको हो। विद्यालयले २० हजार, मेडल र शिल्ड जितेको छ। यसै अवसरमा आयोजक प्याब्सन, काठमाडौंले भ्याली भ्यु स्कुलका नृत्य निर्देशक दिपेश माझीलाई पनि प्रशंसा-पत्रद्वारा सम्मान गरेको छ।

काठमाडौं ७९ ओटा निजी विद्यालयले प्रतिस्पर्धा गरेको यति ठूलो नृत्य प्रतियोगितामा लगातार दोस्रो पटक प्रथम हुन सफल भएकोमा कला क्षेत्रमा प्राप्त भएको यस सफलताप्रति भ्याली भ्यु स्कुलका प्राचार्य सुभाषचन्द्र भण्डारीले देशको मौलिक कला र संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि प्याब्सनले गरेको यस किसिमको सांस्कृतिक आयोजना अनुकरणीय एवं प्रशंसनीय भएकोले आफू अत्यन्तै खुशी भएको प्रतिक्रिया दिएका छन्। साथै, प्राचार्य भण्डारीले साँच्चिकै विद्यार्थीवर्गलाई उनीहरूको रुचि र खुबी पहिचान गरी अवसर प्रदान गरिएमा हरेक विधामा उत्कृष्ट नतिजा ल्याउन सकिने अनुभव सुनाए।

भ्याली भ्यु स्कुलको अतिरिक्त क्रियाकलाप विभागका संयोजक सन्तोष चापागाईंले भ्याली भ्यु स्कुलका विद्यार्थीलाई पढाइका साथै अतिरिक्त क्रियाकलापमा प्रखर बनाउने उद्देश्यका साथ सबैले मिलेर टिमवर्क गरिरहेको बताए।

प्याब्सन, जिल्ला कार्यसमिति काठमाडौंले तीजको अवसर पारेर हरेक वर्ष अन्तर विद्यालयस्तरीय नृत्य प्रतियोगिता आयोजना गर्दै आएको छ। विगतका संस्करणझैं यस वर्ष पनि उक्त प्रतियोगितामा निजी विद्यालयहरूको उत्साहजनक सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य