काठमाडौँ,९ भदौ ।भर्जिनियामा ३ हप्तादेखि बेपत्ता नेपाली मूलकी महिला ममता काफ्ले भट्टको हत्या उनीकै श्रीमान् नरेश भट्टले गरेको खुलासा भएको छ। अमेरिकी मिडिया फक्स ५ का अनुसार, अदालतमा पेश गरिएको प्रहरीको चार्जशिटमा नरेशले ममताको हत्या गरी शवलाई घरबाट बाहिर निकालेको आरोप लगाइएको छ।
प्रहरीले घरमा फरेन्सिक प्रमाणहरू सङ्कलन गर्दै घरभित्र रगतको चिन्हहरू फेला पारेको छ। यद्यपि, ममताको शव अहिलेसम्म फेला परेको छैन। नरेशले इन्कारी बयान दिएको र ममताको शव लुकाएको आरोपमा उनीमाथि छठौं श्रेणीको आपराधिक आरोप लगाइएको छ। हाल नरेश प्रहरी हिरासतमा छन्, र उनको रिहाइ अपिल अदालतले अस्वीकार गरिएको छ।
अभियोजनकर्ताहरूका अनुसार, नरेशले वालमार्टबाट चक्कु र सफाई सामग्रीहरू खरिद गरेका थिए, जुन ममताको हत्या र घटनास्थल सफा गर्न प्रयोग गरेको आशंका छ। दम्पतीकी छोरी सुरक्षित रहेको र समाज सेवाको देखरेखमा राखिएको बताइएको छ।


