बुढानिलकण्ठ नगरपालिकामा कपडा बैंकको स्थापना: समाज सेवामा नयाँ आयाम

Categories:

-

काठमाडौँ,७ भदौ । बुढानिलकण्ठ नगरपालिकामा अब पुराना कपडा व्यवस्थापन र आवश्यकताभन्दा वञ्चित नागरिकहरूको सहयोगका लागि कपडा बैंक सञ्चालनमा आउने भएको छ। बुढानिलकण्ठ नगरपालिकाको कार्यालय र क्लोथ एण्ड फूड बैंक नेपालबीच यस विषयमा औपचारिक सम्झौता भएको छ। यो कपडा बैंकको उद्देश्य पुराना कपडाहरूलाई पुनः प्रयोगमा ल्याई सामाजिक उत्तरदायित्वलाई साकार गर्नु हो।

बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले यो कार्यक्रम देशव्यापी रूपमा सञ्चालन गर्ने लक्ष्य राखेको बताएका छन्। उनले यो अभियानले समाजलाई सफा राख्न र कपडाको पुनः प्रयोगद्वारा आवश्यकता भएका व्यक्तिहरूलाई सहयोग पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। “आफ्नो घर, टोल र समाजलाई सफा राखौँ! कोही कपडा बिहीन नरहून्!” भन्ने मूल नारासहित यो अभियान सुरु भएको हो।

अधिकारीले नगरपालिकाको कार्यालय र वडा नं १० को कार्यालयमा कपडा संकलन बक्स राखिने जानकारी दिए। आगामी आर्थिक वर्षमा प्रत्येक वडा कार्यालयमा कपडा बैंक सञ्चालन गर्ने योजना रहेको भन्दै, उनले नगरवासीलाई पुराना लत्ता-कपडा, झोला, बेल्ट, जस्ता सामग्रीहरू संकलन गर्न र सामाजिक सेवामा सहभागी हुन आग्रह गरेका छन्। यसरी संकलित कपडाहरूलाई पुनः प्रशोधन गरी आवश्यक व्यक्तिहरूलाई निशुल्क वितरण गरिनेछ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम अर्यालले यो मानव सेवा सम्बन्धी परियोजनामा नगरपालिकाको संलग्नता भएकोमा खुशी व्यक्त गरे। उनले कपडा बैंकबाट नगरवासीले अधिकतम् सेवा प्राप्त गर्न सक्ने बताए।

क्लोथ एण्ड फूड बैंक नेपालका प्रमुख अभियन्ता आभिस्कार खनालले यो अभियान देशका सातै प्रदेशमा सञ्चालन भइरहेको र देशभरका स्थानीय सरकार तथा विभिन्न संघ–संस्थाहरूलाई सहकार्यका लागि आग्रह गरे। संस्थापक अध्यक्ष कमल जि.सी.ले दुई वर्षभित्र नेपाललाई कपडा मुक्त बनाउने र २०८२ सम्ममा देशभर फूड एम्बुलेन्स सञ्चालन गर्ने लक्ष्य रहेको बताए।

सम्झौतामा १६० भन्दा बढी स्थानीय सरकारको सहभागिता रहेको जानकारी दिँदै अध्यक्ष जि.सी.ले बुढानिलकण्ठ नगरपालिकालाई धन्यवाद व्यक्त गरे। उनले यो अभियानले समाजमा सकारात्मक परिवर्तन ल्याउने र समाजलाई सफा राख्न, आवश्यकता भएका व्यक्तिहरूलाई सहयोग पुर्‍याउन ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गरे।

कपडा बैंकको यो पहलले समाज सेवामा नयाँ आयाम थप्नेछ र समाजमा मानवता तथा सहयोगको भावना प्रवर्द्धन गर्नेछ। नगरवासीहरूको व्यापक सहभागिताले यो अभियानलाई सफल बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य