काठमाडौँ,६ भदौ । नेपालमा लोकप्रिय छोटो भिडियो सेयरिङ प्लेटफर्म टिकटकमाथिको प्रतिबन्ध खुकुलो बनाइएको छ। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले कात्तिक २७ गतेदेखि टिकटकमाथि प्रतिबन्ध लगाएको थियो।
तर, हाल प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारले यो प्रतिबन्ध हटाउने तयारी गरिरहेको छ। यो कदमको संकेतका रूपमा, केही इन्टरनेट सेवाप्रदायकहरूले आफ्ना ग्राहकहरूलाई टिकटक पुनः चलाउन सकिने बनाइसकेका छन्।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टिकटकमाथिको प्रतिबन्ध हटाउन प्रस्ताव तयार पारेर मन्त्रिपरिषद्मा पेश गर्ने योजना बनाएको छ। मन्त्रालयका स्रोतहरूले पनि प्रतिबन्ध हटाउने तयारी भएको पुष्टि गरेका छन्।
आज मन्त्रिपरिषद्को नियमित बैठक बस्ने कार्यक्रम छ, जसमा टिकटकमाथिको प्रतिबन्ध हटाउने प्रस्तावको चर्चा हुने सम्भावना छ। यदि प्रतिबन्ध पूर्ण रूपमा हटाइयो भने, टिकटक प्रयोगकर्ताहरूले नेपालमा पुनः सहज रूपमा यस प्लेटफर्मको प्रयोग गर्न पाउनेछन्।


