कोटिहोमका आयोजकद्वारा पत्रकारमाथि कुटपिट र लुटपाट, नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण

Categories:

-

काठमाडौं,१ भाद्र । २०८१ भदौ १ गते, काठमाडौं— नेपाल पत्रकार महासंघले पशुपतिनाथमा आयोजित कोटिहोमको अन्तिम दिन रिपोर्टिङका लागि पुगेका नेपाल भ्युज डटकममा कार्यरत पत्रकार श्यामसुन्दर पुडासैनीमाथि भएको कुटपिट र लुटपाटको घटनाप्रति गम्भीर ध्यानाकर्षण गरेको छ। शुक्रबार मध्यरातमा पशुपतिनाथस्थित वनकालीमा कोटिहोमको विरोधमा समाचार लेखेको भन्दै पुडासैनीलाई कुटपिट गरिएको थियो।

घटनाका क्रममा पुडासैनीलाई आयोजकले जबर्जस्ती मञ्चमा बोलाएर अपमानजनक ढङ्गले माला लगाई दुव्र्यवहार गरेका थिए। घटनापछि उनलाई लखेट्दै कुटपिट गरिएको थियो भने उनको साथमा रहेका दुई तोलाको सुनको सिक्री, पर्स, लाइसेन्स, हेल्मेट जस्ता सरसामान समेत लुटपाट गरिएको पुडासैनीले बताएका छन्। यस कुटपिटबाट पुडासैनी घाइते भएका छन्।

पत्रकार पुडासैनीले यो हमला उनीमाथि भएको शारीरिक, मानसिक, र आर्थिक दुव्र्यवहारको स्पष्ट प्रमाण भएको बताएका छन्। उनले भने, “समाचार लेख्ने स्वतन्त्रता हाम्रो मौलिक हक हो, तर यस्तो आपराधिक आक्रमणले हाम्रो पेशागत कर्तव्य निर्वाह गर्न असहज बनाएको छ।”

यो घटना प्रेस स्वतन्त्रताको गम्भीर उल्लंघनको उदाहरण हो। नेपाल पत्रकार महासंघले पत्रकारमाथि भएको यो आक्रमणको कडा निन्दा गर्दै दोषीमाथि कानुनी कारबाहीको माग गरेको छ। महासंघका महासचिव रोसन पुरीले एक प्रेस विज्ञप्ति जारी गर्दै भने, “पत्रकारमाथि यस्तो प्रकारको आक्रमणले हाम्रो लोकतन्त्रको मर्ममाथि चोट पुर्‍याएको छ। यो कुनै पनि हालतमा स्वीकार्य छैन।”

महासंघले पत्रकारमाथि भएको आक्रमणको सम्बन्धमा आवश्यक अनुसन्धान गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ। “यो घटनाले पत्रकारहरूको सुरक्षाको सवालमा गम्भीर प्रश्न उठाएको छ। कुनै पनि पत्रकारमाथि यस्तो प्रकारको आक्रमण हुनु भनेको समग्र पत्रकारिता जगत्माथि नै आक्रमण हो,” पुरीले भने।

यस घटनापछि पत्रकारहरूबीच त्रास र असुरक्षाको भावना फैलिएको छ। पत्रकारिता पेशामा रहेका धेरै व्यक्तिहरूले यो घटनालाई लोकतान्त्रिक अधिकारमाथि प्रहारको रूपमा व्याख्या गरेका छन्। पत्रकारहरूको सुरक्षाका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्ने आवाज बलियो बनेको छ।

घटनामा संलग्न व्यक्तिहरूलाई पहिचान गरेर कानुनी प्रक्रियामा ल्याउनुपर्ने माग व्यापक छ। यो घटनापछि पत्रकारितामा रहेका पेशाकर्मीहरूबीच आपसी ऐक्यबद्धता देखिएको छ र उनीहरूले सरकारसँग सुरक्षा र स्वतन्त्रताका सवालमा तत्काल पहल गर्न आग्रह गरेका छन्।

पशुपतिनाथमा आयोजित यो कोटिहोम कार्यक्रमको आयोजकहरूको मनोवृत्तिमा आपराधिक प्रवृत्ति रहेको आशंका गर्दै, महासंघले यसको कडा आलोचना गरेको छ। कार्यक्रमको उद्देश्य धार्मिक भए तापनि यस्तो हिंसात्मक कार्यले यसको उद्देश्य र मर्ममाथि प्रश्न चिन्ह उठाएको छ।

यो घटनाले नेपालमा प्रेस स्वतन्त्रताको भविष्य र पत्रकारहरूको सुरक्षाको सवाललाई गम्भीर रूपमा उठाएको छ। यसले सरकार र सम्बन्धित निकायहरूलाई पत्रकारहरूको हक अधिकारको सुरक्षा गर्न र दोषीमाथि कडा कारबाही गर्न दवाब सिर्जना गरेको छ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य