सोलुखुम्बुमा बाढीले १६ घर बगायो, छ जनाको उद्धार, एक जना बेपत्ता

Categories:

-

काठमाडौं, ३२ साउन ।सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामे क्षेत्रमा बिहीबार दिउँसो आएको बाढीले ठूलो क्षति पुर्याएको छ। बाढीले १६ वटा घर पूर्ण रूपमा बगाएको छ भने एउटा विद्यालय, क्लिनिक, र होटललाई पनि पूर्ण रूपमा क्षति पुर्याएको छ। सो घटनामा फसेका छ जनाको सफल उद्धार गरिएको छ, तर एक जना अझै बेपत्ता रहेका छन्।

सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डे (खत्री)

सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डे (खत्री) का अनुसार उद्धार कार्य जारी रहेको छ र क्षतिको पूर्ण विवरण आउन बाँकी छ। उनले जनआस्थासँग कुरा गर्दै भनिन्, “पानी परिरहेको र हिँडेर जानुपर्ने भएकाले उद्धार टोली पनि केहीबेर अघि मात्रै पुग्यो। छ जना मानिस र केही पशुपन्छीको उद्धार गरिएको छ। एक जना बाढीमै बेपत्ता भएको आशंका छ, कन्फर्म गर्दैछौं।”

प्रजिअ पाण्डेले घटनास्थलमा बिजुली र नेटवर्कको समस्या हुँदा सम्पर्क गर्न कठिन भइरहेको बताइन्। यसैगरी, ताल बगाएको आशंका गरिएको छ, जसले बाढी उत्पन्न गराएको हुनसक्ने अनुमान गरिएको छ। खराब मौसमका कारण हेलिकोप्टरले धेरै उडान गर्न नसकिएको पनि उनले जानकारी दिइन्।

उनले बाढी दिउँसो आएको कारण मानवीय क्षति कम भएको बताइन्। “राति बाढी आएको भए मानवीय क्षतिको सम्भावना धेरै हुने थियो,” उनले भनिन्। सेना र प्रहरीको एउटा टोली घटनास्थलमा पुगेर उद्धारमा संलग्न भएको छ भने स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ।

 

बाढीको कारण र यसको प्रभावबारे थप जानकारी प्राप्त गर्न उद्धार टोलीले प्रयास जारी राखेको छ, र मौसम सुधार भएपश्चात थप सहायता पुर्याउने योजना बनाइएको छ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य