कुलमानलाई जेल हालन् पूर्वडीआईजी रमेश खरेलले गुहारे अख्तियार

Categories:

-

काठमाडौँ,३० साउन । पूर्वडीआईजी रमेश खरेलले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन्। सञ्चारकर्मी र सामाजिक अभियन्ताका रूपमा पनि परिचित खरेलले घिसिङमाथि भ्रष्टाचारको गम्भीर आरोप लगाउँदै मंगलबार अख्तियारमा उजुरी दर्ता गराएका हुन्।

खरेलले कुलमान घिसिङले आफ्नो दुई कार्यकालको समयमा विद्युत् प्राधिकरणको प्रबन्धक निर्देशकका रूपमा काम गर्दा राज्यलाई करोडौं रुपैयाँको घाटा हुने गरी भ्रष्टाचार गरेको दाबी गरेका छन्। उनका अनुसार, घिसिङले ६६ वटा ऊर्जा उत्पादक कम्पनीसँग पावर पर्चेज एग्रिमेण्ट (पीपीए) गर्दा कानुन मिचेका छन्। खरेलको दाबीअनुसार, यस क्रममा राज्यलाई १ करोड १७ लाख २६ हजार ५२० रुपैयाँ राजस्व घाटा भएको छ।

खरेलले कुलमानले विद्युत् नियमन आयोगको स्वीकृतिबिना नै पीपीए सम्झौता गरेको आरोप पनि लगाएका छन्। विद्युत् नियमन ऐन २०७४ मङ्सिर १७ गते लागू भए पनि २०७५ र २०७६ मा कुलमानले ६२ वटा ऊर्जा उत्पादकसँग २०७५ मा र ४ वटा ऊर्जा उत्पादकसँग २०७६ मा पीपीए सम्झौता गरेको आरोप लगाइएको छ। यसले ऐन र नियमावलीको बर्खिलाप गरेको र राज्यलाई ठूलो आर्थिक नोक्सानी पुर्‍याएको खरेलले बताएका छन्।

खरेलले राज्यका निकायहरूले यस्ता प्रवृत्तिलाई मौन रूपमा समर्थन गरेमा अनियमितता र भ्रष्टाचारको ग्राफ अझै बढ्ने चेतावनी पनि दिएका छन्। ऊर्जा मन्त्रालय र २०७६ मा स्थापित विद्युत् नियमन आयोगले यस विषयमा ठोस् कदम नचालेको र घिसिङको कार्यशैलीमा कुनै ठोस अनुसन्धान नगरेको पनि खरेलको भनाइ छ।

यस उजुरीले कुलमान घिसिङमाथि थप अनुसन्धानको माग गर्दै सार्वजनिक चासो बढाएको छ। कुलमान घिसिङले आफ्नो कार्यकालमा नेपाल विद्युत् प्राधिकरणमा सुधारका विभिन्न कार्यहरू गरे पनि यस्ता आरोपहरूले उनको छविमा के प्रभाव पार्छ भन्ने हेर्न बाँकी छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस विषयमा के निर्णय लिन्छ भन्ने कुराले पनि भविष्यमा महत्वपूर्ण भूमिका खेल्न सक्छ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य