काठमाडौं, २० असार । नेकपा एकीकृत समाजवादीको अध्यक्षमा माधव नेपाल सर्वसम्मत अध्यक्ष हुने करिब निश्चित भएको छ।
अर्का प्रत्यासी घनश्याम भुसाल नेपाललाई अध्यक्ष छाड्न तयार भएका हुन्।
बिहीबार भावी नेतृत्व चयनको प्रक्रिया सुरु हुनुअघि नै मुख्यमुख्य पदमा सर्वसम्मत गर्ने प्रयास भइरहेको छ।
नेपाल र भुसालबीच गएराति भएको छ्लफल सकारात्मक भएको थियो। भेटमा सहभागी एक नेताले देश सञ्चारलाई बताएअनुसार अध्यक्षको दाबी छाड्दा आफूलाई वरिष्ठ उपाध्यक्ष बनाउनु पर्ने अडान भुसालले राखेका थिए।
तर उक्त पदमा अरू नै नेतालाई व्यवस्थापन गर्नुपर्ने अवस्था रहेकाले महासचिव नै बन्न नेपालले आग्रह गरेका छन्।
भुसालले वरिष्ठ उपाध्यक्ष चाहिने बताएपछि राति थप छ्लफल गर्ने भनेर नेताहरू उठेका थिए।
पाँच दिनदेखि समाजवादीको १०औं महाधिवेशन काठमाडौंमा चलिरहेको छ। ‘दशाैं’ महाधिवेशन असार १६ गतेदेखि काठमाडौंमा सुरु भएकाे हाे। महाधिवेशनमा देशभरबाट करिब १ हजार ८ सय महाधिवेशन प्रतिनिधि छनोट भएका छन्।
समाजवादीले १९ पदाधिकारीसहित २ सय ९९ सदस्यीय केन्द्रीय कमिटी चयन गरेकाे छ।
२०७८ भदौमा नेकपा एमालेबाट विभाजन भएर नेकपा एकीकृत समाजवादी पार्टी गठन भएकाे थियाे। नयाँ पार्टी गठन गरेयता एकीकृत समाजवादीले पहिलोपटक महाधिवेशन आयोजना गरेकाे हाे।
२७५ सदस्यीय प्रतिनिधिसभामा एकीकृत समाजवादीको १० सिट मात्र छ।