काठमाडौं, २० असार । राजीनामा बोकेर बालुवाटार पुगेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नेतृत्वको टोली खल्तीबाट उक्त पत्र नझिकी प्रधान मन्त्रीलाई समर्थन गर्दै फर्केको छ । हिजो एमालेका सबै मन्त्रीले सामूहिक राजीनामा दिँदै पार्टीले दिएको समर्थन फिर्ता लिएपछि दबाबमा परेका प्रधानमन्त्रीलाई थप दबाब पर्ने भन्दै रविले राजीनामा नदिने मूड बनाएको बालुवाटार स्रोतको दावी छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्न गएको उक्त टोली करिब दुई घण्टाको छलफलपछि निस्केको हो । प्रधानमन्त्रीले तत्काल राजीनामा नदिन गरेको आग्रहलाई रास्वपाका नेताहरुले स्वीकार गरेका छन् ।
प्रधानमन्त्रीसँगको भेटपछि पत्रकारसँग कुरा गर्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्रीले संसद सामना गर्ने आफ्नो संवैधानिक अधिकार रहेकाले त्यतिबेला सम्म साथ दिन आग्रह गरेकोले राजीनामा नबुझाएको बताएका छन् ।
उनले प्रधानमन्त्रीले आफ्नो संवैधानिक अधिकार प्रयोग गर्छु भन्दा त्यतिन्जेलसम्म आफूहरु त्यतिबेला सम्म पर्खिन तयार भएको बताए । परियारले प्रधानमन्त्रीलाई छिटो विश्वासको मत लिन आग्रह गरेको आफुहरुले बताएको जानकारी दिए ।
प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित शिक्षामन्त्री सुमन श्रेष्ठ, श्रममन्त्री डिपी अर्याल र खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ रहेका छन् ।
यस अघि बुधबार साँझ एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिदै मन्त्रीहरुले राजीनामा बुझाइसकेका छन् । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको छ ।