काठमाडौँ, ४ असार । भ्रष्टाचार विरोधी अभियन्तालाई सूचना मागेकै कारण प्रहरीले पक्राउ गरेको सूचनाको हकका लागि राष्ट्रिय महासंघले बताएको छ।
महासंघका केन्द्रीय अध्यक्ष उम्मीद बागचन्द र केन्द्रीय महासचिव अजयकुमार साहले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै अभियन्ताले सूचना माग गरेकै कारण पक्राउ गरेको बताएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले मंगलबार आफ्नो फेसबुक पेजमार्फत चार जना व्यक्तिहरूलाई पक्राउ गरेको विज्ञप्ति जारी गरेको छ। पक्राउ पर्नेमा गोकर्णेश्वर बस्ने ३१ वर्षीय राजु सुनार, २६ वर्षीय आदर्श क्षेत्री, २० वर्षीय अस्मिता खत्री र ४५ वर्षीय प्रेमप्रसाद श्रेष्ठ छन्।
उनीहरूले गैर-कानुनी तरिकाले बेथिति एवं भ्रष्टाचार विरूद्ध अभियान २०८० नामको संस्था खोलेर ठगी समेत गरेको आरोप लगाएको छ। यद्यपि उनीहरूले कति रकम ठगेको भन्ने प्रहरीले खुलाएको छैन।
यस विषयमा महासंघले भ्रत्सना गरेको छ।
‘सार्वजनिक निकायमा सूचना माग गरेकै कारण बौद्ध प्रहरी वृत्तबाट खटिएका प्रहरीले ज्यादतीपूर्ण तरिकाले पक्राउ गरेको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ, उक्त घटनाको महासंघ घोर भत्सना गर्दै पक्राउ गरिएका अभियन्ताहरूलाई तत्काल रिहा गर्नका लागि सम्बन्धित प्रहरी प्रशासनलाई ध्यानाकर्षण गराउँदछौ,’ विज्ञप्तिमा भनिएको छ।


