काठमाडौं उपत्यकामा दिउँसै ‘ठुला’ चोरीका घटनामा वृद्धि

Categories:

-

काठमाडौं, १५ फागुन ।  काठमाडौं उपत्यकाभित्र पछिल्ला महिनामा ठुला चोरीका घटनाहरू बढेर गएको देखिएको छ। काठमाडौं उपत्यकाभित्र घट्ने गम्भीर प्रकृतिको घट्नाको अनुसन्धान गर्ने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको तथ्यांक अनुसार अघिल्लो वर्षको तुलनामा चोरीका घटनाहरु यो वर्ष बढेको छ।

विषेशत निश्चित व्यक्तिलाई ‘टार्गेट’ बनाएर रेकी गरि चोरी गर्ने समूहहरू सक्रिय भएको प्रहरीको भनाइ छ। त्यस्तै, पटक पटक चोरीमा संलग्न व्यक्तिहरू थुनामुक्त भएपछि फेरि पनि चोरीमा नै संलग्न भएको पाइएको छ। त्यसैकारण उपत्यकामा चोरीको घटना बढेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्र सिंह राठौर बताउँछन्।

‘पुरानो समूह सक्रिय भएको देखिन्छ। त्यसैले अहिले हामीले जेलबाट छुटेका चोरहरूलाई समेत निगरानी बढाएका छौं,’ एसएसपी राठौरले भने।

आर्थिक वर्ष २०७९/८० मा यस कार्यालयमा ८२ वटा ठुला चोरीका घटना दर्ता भएका थिए। साउन महिनामा सबैभन्दा धेरै १८ वटा चोरीका घटना दर्ता भएको देखिन्छ। माघ महिनामा १२ वटा दर्ता भए। त्यस्तै, वैशाख र जेठमा एक/ एकवटा घटना दर्ता भएका छन्। असार महिनामा भने कुनै पनि चोरीका ठुला घटना दर्ता नै भएनन्। चैतमा ६, फागुनमा ५, पुस र भाद्रमा ९/ ९, मंसिरमा ४, कार्तिकमा ९, असोजमा ८ वटा चोरीका घटना दर्ता भएका छन्।

त्यसबाहेक सिक्री लुटपाट, सवारी चोरी, सहकारी चोरी लगायतको तथ्यांक त छुटै छ। सोही आर्थिक वर्षमा ४१ वटा सिक्री लुटपाटको घटना यस कार्यालयले हेरेको थियो। ६ वटा सहकारी चोरी, ४ वटा डाँका चोरीको घटना रहेका थिए।

तर, चालु आर्थिक महिनाको साढे सात महिनामा सोही कार्यालयमा भने ११२ वटा गम्भीर प्रकृतिका चोरीका घटना दर्ता भएका छन्। यसले चोरीका घटना अघिल्लो वर्षको तुलनामा बढेको देखाउँछ। सात महिनाको असोजमा मात्र १९ वटा चोरी भएको देखिएको छ। सबैभन्दा धेरै पुस महिनामा २३ वटा घटना दर्ता छन्। मंसिरमा १६, साउनमा र भदौमा १४/१४ वटा, माघमा १२, कार्तिकमा ९ वटा चोरीका घटना दर्ता भएका छन्।

यसरी दर्ता भएका मध्ये प्रहरीले ३२ वटा घटनाको अनुसन्धान टुंग्याएको छ। बाँकी ७८ वटा घटना अनुसन्धानको चरणमा नै छन्।

कार्यालयले साना भन्दा पनि गम्भीर प्रकृतिका चोरीका घटनाको अनुसन्धान गर्छ। साना प्रकृतिका चोरी जिल्ला प्रहरी परिसर काठमाडौंले हेर्न गर्छ। साना चोरीका घट्नाको तथ्यांकको फेहरिस्त भने छुटै छ।

गत माघ ५ गते काठमाडौंको टोखामा दिउँसै लाखौंको धनमाल चोरी भएको थियो। टोखाको झोरमा मोटरसाइकलमा आएका ६ जनाले रसुवा गोसाईंकुण्ड बस्ने व्यापारी क्रासाङ लामा र फुरसाङ्गे लामालाई हातहतियार देखाई ज्यान मार्ने समेतको धम्की दिएका थिए। सो समूहले उनीहरुबाट नगद र गरगहना गरि १ करोड ५२ लाख बराबरको धनमाल लुटपाट गरेका थिए। प्रहरीले पछि चोरी गर्ने ६ जनालाई नै पक्राउ गर्न सफल भयो।

त्यस्तै, फागुन ६ गते ललितपुरबाट राष्ट्रिय फुटबल टोलीका खेलाडी मनिष डाँगीको घरमा दिउँसै चोरी भयो। रेकी गरेर सूचना लिएपछि तीन युवकले चोरीको योजना बनाएका थिए। मनिष घरबाट निस्किँदा कोठाको साँचो बाहिर पट्टी जुत्ताको र्‍याक तथा गमलामा राख्ने गरेको थाहा पाएपछि सो समूहले चोरी गरेको थियो। उनको घरबाट ४५ लाख बराबरको धनमाल चोरी भएको थियो। घटनामा संलग्न तीन जनालाई प्रहरीले एक सातापछि पक्राउ गर्न सफल भयो।

अहिले काठमाडौं उपत्यकाभित्र दिउँसो नै चोरीका घटना बढेको छ। जसकारण प्रहरीले सावधानी अपनाउन आग्रह गरिरहेको छ।

‘केही दिनसम्म घरको रेकी गरेर दिउँसो कोही नहुने जानकारी पाएपछि चोरी गर्ने ट्रेन्ड देखिन्छ। दिउँसोको चोरी रातको भन्दा धेरै छन्,’ एसएसपी राठौरले भने।

काठमाडौंका बालाजु, बौद्ध, कालिमाटी, नयाँ बानेश्वर र महाजगञ्ज क्षेत्रमा धेरै चोरी भएको देखिएको छ।

दिउँसै चोरीका घटना बढेसँगै घर खाली नछोड्न, घरमा सिसि क्यामरा जडान गर्न, टोलमा अपरिचित वा सन्दिग्ध व्यक्ति देखिए प्रहरीलाई खबर गर्न प्रहरीले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य