काठमाडौ, ९ माघ । गैरदलित युवतीसँग प्रेम विवाह गरेका कारण सात वर्षअघि मारिएका काभ्रे पाँचखालका अजित मिजारको न्यायका लागि दलित संघ संगठनहरुले पहिलो चरणका आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका छन् ।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एकीकृत दलित मुक्ति मोर्चा नेपाल, व्यवस्था उन्मुलन मोर्चा नेपाल, नेपाल राष्ट्रिय दलित केन्द्र र संयुक्त दलित अधिकार मञ्च नेपालले अजितको न्यायको लागि भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाउनेदेखि आन्दोलन गर्ने कार्यक्रम घोषणा गरेका हुन ।
दलित संघहरुले संयुक्त प्रेस वक्तव्य सार्वजनिक गर्दै यही माघ १५ गते अन्तरक्रिया कार्यक्रम गर्ने जनाएको छ । माघ २० देखि २५ गतेभित्र प्रधानमन्त्रीलाई ज्ञापनपत्र वुझाउने र माघ ३० गते प्रदर्शन गर्दै दोस्रो चरणका आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने बताएका छन् ।
जात व्यवस्था उन्मुलन मोर्चा नेपालकी अध्यक्ष शान्ति गजमेरले न्यायको लागि कानुनी राज्यमा आन्दोलनमै उत्रिनुपर्ने बाध्यता भएको बताइन । योजनाबद्ध रुपमा मारेर झुण्ड्याइएको यथेष्ठ प्रमाण हुँदाहुँदै पीडकलाई उन्मुक्ति दिइएको उनको भनाइ छ ।
नेपाल राष्ट्रिय दलित केन्द्रका अध्यक्ष उपेन्द्र छुटुन्जेलले दलितलाई न्याय दिलाउन कहिलेसम्म सडकमा आउनुपर्ने हो भन्दै प्रश्न गरे । नेपालको कुल जनसंख्यामध्ये १३ प्रतिशत जनसंख्या भएको दलित समूदायलाई उपेक्षा गरिएको बताए ।


