विराटनगर, २१ मङ्सिर। । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले २९.६० लम्बाइको लेटाङ ६ नम्बर बुधबारे सडकको शिलान्यास गरेका छन् ।
शुक्रवार पूर्वाधार विकास कार्यालयले लेटाङमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री कार्कीले रणनीतिक योजनाको सडक शिलान्यास गरेका हुन् ।
पाँचथरको मिक्लाजुङ गाउँपालिका र धनकुटाको चौबिसे गाउँपालिका साथै इलाम तथा ताप्लेजुङका स्थानीयलाई समेत प्रदेशको राजधानी विराटनगर आउन छिटो पर्ने सडक रणनीतिक योजनाको सडक भएको मुख्यमन्त्री कार्कीले बताए ।
कार्यक्रममा उनले भने, ‘सडक निर्माणपछि यस भेगका कृषि उत्पादन बजारसम्म पुर्याउनका साथै उत्पादनमा लाग्ने साधन स्रोतलाई किसानसम्म पुर्याउनका लागि महत्वपूर्ण हुन्छ ।’
अब अन्य आयोजनाको छनौट गरेर आवश्यक्ताका आधारमा निर्माण हुने बताउँदै मुख्यमन्त्री कार्कीले सम्पन्नता गर्ने ग्यारेन्टीसहित योजना छनौट हुने बताए ।
सो सडकको सन्तोषी–जोया एण्ड ब्रदर्स जेभीले २०८३ वैशाख २८ गते सम्पन्न गर्ने गरी ८७ करोड तीनलाख ५३ हजार २७ रुपैयाँ७० पैसामा ठेक्का सम्झौता गरेको छ । निर्माण व्यवसायीका सञ्चालक भीम पौडेलले समयमै गुणस्तरीय काम गरेर सडक हस्तान्तरण गर्ने बताए ।
भौतिक पूर्वाधार विकास मन्त्रालय कोशी प्रदेशका सचिव रमेशकुमार सिंहको सभापतित्वमा भएको कार्यक्रममा सम्बन्धित स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरूका साथै सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता थियो ।

