दुर्गा प्रसाईंको जुलुस आठ ठाउँबाट निस्कने, अग्रभागमा गेरु वस्त्रधारी

Categories:

-

काठमाडौं, ६ मंसिर । राजसंस्था पुनःस्थापना र बैंकको ऋण मिनाहाको अभियानमा रहेका भनिएका दुर्गा प्रसाईं नेतृत्वको समूहले भोलि राजधानीका आठ स्थानबाट जुलुस निकाल्ने तयारी गरेको छ ।

काठमाडौँ उपत्यकाका विभिन्न सात स्थानबाट जुलुस निकालेर बल्खु चोकमा एकीकृत गर्ने ’राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाँअभियान’ का सह प्रवक्ता राजानन्द मान्डव्यले जानकारी दिए । उनका अनुसार बिहान १० बजेदेखि विभिन्न स्थानबाट प्रदर्शनकारीहरुले तोकिएको रुटमा जुलुस निकाल्ने छन् ।

जनाइएअनुसार भक्तपुर क्षेत्र र साँगा नाका हुँदै उपत्यका छिर्नेहरु बिहान साढे १० बजे सानो ठिमीस्थित परीक्षा नियन्त्रण कार्यालय अगाडिको खुला चौरमा भेला भई गठ्ठाघर, लोकन्थली, जडिबुटी, कोटेश्वर, ग्वार्को, सातदोबाटो र एकान्तकुना हुँदै बल्खु पुग्नेगरी रुट तय गरिएको छ ।

त्यस्तै, महाराजगञ्ज, गोंगबु बूढानीलकण्ठ, टोखा, बालाजु र ककनीबाट आउनेहरु साढे १० बजे गोंगबु चोकमा जम्मा हुनेछन् । उनीहरु गल्कोपाखा, सोह्रखुट्टे, ढल्कु, कालिमाटी हुँदै प्रदर्शनस्थल बल्खु पुग्नेछन् ।

यता,स्वयम्भु, सीतापाइला, रामकोटबाट आउने आन्दोलनकारी पौने ११ बजे स्वयम्भुमा एककठ्ठा भई कलंकी पुग्ने छन्् । त्यहाँ थानकोट तर्फबाट आउनेहरु पनि मिसिएर रविभवन कालिमाटी हुँदै बल्खु पुग्ने रुट तय गरिएको छ ।

पाटन क्षेत्रका सबै प्रदर्शनकारीहरु ११ बजे जावलाखेलमा जम्मा भएर एकान्तकुना, नख्खु दोबाटो, धोविघाट हुँदै बल्खु पुग्नेछन् । सातदोबाटो, इमाडोल, गोदावरीतर्फबाट जुलुसमा सहभागी हुनेहरु भक्तपुरबाट आउने र्यालीमा मिसिएर आन्दोलनस्थलतर्फ जाने बताइएको छ ।

कीर्तिपुर, दक्षिणकाली तर्फबाट आउनेहरु त्रिभुवन विश्वविद्यालयको प्रवेशद्वार अगाडि भेला भएर सिधै बल्खु जानेछन् । चाबहिल, साँखु, जोरपाटी, कपन सुकेधाराबाट छिर्नेहरु बिहान सवा १० बजे चाबहिल चोकमा जम्मा भएर गौशाला, मैतीदेवी, डिल्लीबजार, पुतलीसडक, बागबजार, रत्नपार्क, सुन्धारा, त्रिपुरेश्वर, टेकू, कालिमाटी हुँदै आल्दोलनस्थल बल्खु पुग्नेगरी रुट निर्धारण गरिएको छ ।

जुलुसमा धार्मिक तथा राष्ट्रिय झण्डा बाहेकका अन्य झण्डा प्रयोगमा निषेध गरिएको र र्यलीको अग्रभागमा धार्मिक गुरु, ओमकार परिवार, नाथलगायत रहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य