काठमाडौं, १८ कार्तिक । भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् भरतप्रसाद कोइरालाले जाजरकोटमा गएको ६ दशमलव ४ रेक्टरको भूकम्प मध्यम भएको बताएका छन् ।
कुराकानीमा उनले, नेपालको पश्चिम क्षेत्रमा लामो समयदेखि ठुलो शक्ति सञ्चित भएर बसेको र त्यो मध्यम भूकम्पले रिलिज गर्न नसक्ने बताए । उनले भने ‘अझै ठुलो भूकम्पको सम्भावना टरिसकेको छैन् ।’
‘एउटा आठ रेक्टरस्केलको भूकम्पको शक्ति रिलिज गर्न कम्तिमा ६ रेक्टर स्केलका एक हजार भूकम्प जानु पर्ने हुन्छ ’ उनले भने ‘अब यो भूकम्पपछि गएका परकम्पले कति शक्ति रिलिज गर्न भन्ने कुरा महत्वपूर्ण हो । तर यो भूकम्पकै कारण अब जोखिम कम भयो भन्न मिल्दैन् । ’
नेपाल जहिले पनि भूकम्पको जोखिममा रहेको भन्दै उनले के पूर्व के पश्चिम के मध्य सबैतिर भूकम्पको उत्तिकै जोखिम भएपनि, पश्चिम क्षेत्रमा लामो समयदेखि महाभूकम्प नगएकाले त्यो क्षेत्र बढि जोखिममा रहेको बताए ।
सरकार र आम नागरिक आ आफ्नो तर्फबाट भूकम्प प्रतिरोधका लागि तयार रहनु पर्ने उनको सुझाव छ ।