काठमाडौं,२ असोज । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार सञ्चालन गर्न बसेकाहरुको गल्तिको भारी अहिलेको व्यवस्थामाथि थुपार्न नहुने तर्क गरेकी छिन्।
मंगलबार चलचित्र विकास बोर्डले आयोजना गरेको एक कार्यक्रममा मन्त्री शर्माले व्यवस्था गरिवर्तनका लागि भएको जनआन्दोलनले आम नागरिकको जीवनमा भने जति परिर्वतन गर्न नसक्नुमा शासकहरुको दोष रहेको बताईन् ।
शासकले गरेको गल्तिको भारी व्यवस्थामाथि थुपार्न नहुने उनको तर्क छ ।
‘सरकार सञ्चालन गर्नेहरुले गरेको त्यो त्रुटिको भारी, त्यसको दोष व्यवस्थाले बोक्नु हुँदैन्, र बोकाउनु हुँदैन ।’ उनले भनिन् ।
लोकतन्त्रमा भएका गल्ति कमजोरीको भारी व्यवस्थालाई बोकाएर लोकतन्त्रको विकल्प खोज्नु भन्दा त्यसको सुधार गर्नतर्फ लाग्नुपर्ने उनको तर्क छ ।
‘पारदर्शी व्यवस्थाको कारण अपराधीहरु कारबाहीको दायरामा रहेको भन्दै उनले थपिन, यो पारदर्शी व्यवस्थाका भएकैले हामीले यति धेरै कुरा थाहा पाएका हौं, जे जति छन् त्यसको भारी लोकतन्त्रले बोक्दैन । यो लोकतन्त्रको विकल्प भनेको सुदृढ लोकतन्त्र हो । हामीले सुधार गरेर यहाँभित्रका खराब पक्षहरुलाई पन्छाएर हरेक क्षेत्रका राम्रा कुराहरुलाई सतहमा ल्याउने गर्नुपर्छ ।’
कार्यक्रममा सामाजिक शासकीय रुपान्तरणमा योगदान पुर्याएका कला क्षेत्रका कलाकार, निर्देशकलगायतका विभिन्न कलाकर्मीलाई सरकारले सम्मान गरेको छ । हास्यव्यङ्ग्य कलाकार मदन कृष्ण श्रेष्ठ, बसुन्धरा भूसाल, चलचित्र निर्देशक दयाराम दाहाल लगायतलाई सम्मान गरिएको छ ।
सम्मान ग्रहण गर्दै वरिष्ठ हास्यव्यङ्य कलाकार मदन कृष्ण श्रेष्ठले चलचित्र विकास बोर्डले यो पाली फरक ढंगले चलचित्रकर्मीलाई सम्मान गरेको देख्दा खुशी लागेको बताए ।
‘आजको यो पुरस्कृत हुने व्यक्तिहरु देखेर म दङ्ग परे । पहिले पहिले भन्दा एकदम फरक किसिमको पाए । जो दयाराम दाहालजीले पुरस्कार पाउनुभयो। जयरामजीले धेरै कलाकार जन्माउनु भयो, धेरै फिल्महरु निर्माण गर्नुभयो। चलचित्र जगतलाइ नै माथि पुर्याउनुभयो । तपाइँले पुरस्कार लिएको कहिल्यै देखेको छैन् । खुशी लाग्यो । ’


