बालसुधार गृहबाट भागेका १० कैदीबन्दीकाे अवस्था अज्ञात

Categories:

-

काठमाडौँ, ७ भाद्र । राष्ट्रिय मानव अधिकार आयोगले भक्तपुरको मध्यपुरथिमीस्थित बालसुधार गृहमा भएको पछिल्लो घटनाको अनुसन्धान थालेको छ । तीन वर्षदेखि सुधारगृहमा रहेका रामेछाप मन्थलीका १८ वर्षीय कमल बस्नेतको गत आइतबार बिहान मृत्यु भएपछि त्यहाँको अवस्था तनावपूर्ण बनेको छ ।

बस्नेतको मृत्युपछि आक्रोशित आफन्तजनले सुधारगृहमा तोडफोड पश्चात् त्यहाँ रहेका २ सय २१ जना कैदीबन्दीहरु भागेका थिए । तीमध्ये १० जना अझै फेला परेका छैनन् । उक्त घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आयोगले आज जारी विज्ञप्तिमा यसबारे अनुसन्धान प्रक्रिया अघि बढाएको बताएको छ ।

आयोगले अनुगमनको क्रममा बालसुधारगृहमा रहेका बालबालिका, सुरक्षाकर्मी, नेपाल प्रहरीबाट गठित छानबिन समिति तथा भक्तपुर जिल्ला सुरक्षा समितिबाट गठित छानबिन समितिका सदस्यहरुसँग प्रत्यक्ष भेटवार्ता गरेको छ ।

‘बालसुधार गृहको व्यवस्थापनको जिम्मेवारी लिएको युसेप नेपालले आफ्नो नियन्त्रण र निगरानीमा राखिएका बिरामी कमल बस्नेतको स्वास्थ्योपचारमा संवेदनशीलता नदेखाएको एंव सुधारगृह कमाण्डरहरुले आवश्यक समन्वय गर्न नसकेकोले सामान्य बिरामी परेका निज कमलको उपचारको अभावमा मृत्यु भएको भन्दै बालसुधार गृहका बालकहरुको समूहले सोमबार ढुंगाुमढा तथा तोडफोड गरी सुधारगृहबाट भागेको, भागेकामध्ये केही सम्पर्कमा आएको र अझै दश जना सम्पर्कमा आउन बाँकी रहेको अनुगमनबाट पाइएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

आयोगले बस्नेतको मृत्युको उजुरी दर्ता गरी अनुसन्धान प्रारम्भ गरिएको जनाउँदै बालबालिकाको स्वास्थ्य, सुरक्षा एवम् जीवनको अधिकारप्रति संवेदनशील हुँदै उक्त घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याउन माग गरेको छ । साथै, यस प्रकारको घटना पुनः दोहोरिन नदिन सम्बन्धित निकायसमक्ष आग्रह समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य