काठमाडौं, ४ भदौ । संसदको अवरोध हटाउने विषयमा छलफल गर्न बोलाइएको राष्ट्रिय मान्यता प्राप्त दलको बैठक सुरु भएको छ ।
काठमाडौं बाहिर रहेका प्रधानमन्त्री आउन ढिला भएपछि ७ बजेका लागि बोलाइएको बैठक ढिला गरी सुरु भएको हो ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सुरु भएको बैठकमा संसद खुलाउने विषयमा सत्ता पक्ष र प्रतिपक्षको भूमिकाबारे छलफल भइरहेको छ ।
बैठकमा प्रधानमन्त्रीसहित उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, उपसभापति पूर्णबहादुर खड्का, एमाले प्रमुख सचेतक पदम गिरि , रास्वपा सभापति रवि लामिछाने, राप्रपा उपाध्यक्ष विक्रम पाण्डेलगायतका नेता सहभागि छन् ।
यसअघि हिजो बसेको बैठक निष्कर्षविहीन भएपछि, आजका लागि बैठक बोलाइएको हो । दलहरुकै आग्रहमा हिजो बोलाइएको प्रतिनिधिसभाको बैठक भोलीका लागि सारिएको थियो ।
एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको अडानसहित साउन १० गतेबाट निरन्तर बैठक अवरुद्ध गर्दै आएको छ ।