काठमाडौं, २९ साउन । जनकपुरकी २२ वर्षीया आरती साहलाई न्याय दिनुपर्ने माग गर्दै सिंहदरबार दक्षिण गेटमा पुगेका २० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रहस्यमय रुपमा ज्यान गुमाएकी जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोककी २२ वर्षीया आरती साहलाई न्याय दिनु पर्ने भन्दै सिंहदरबार दक्षिण गेट अगाडि बसेका पीडितहरूलाई प्रहरीले धरपकड गरेको छ । मृतक आरतीका लागि न्याय माग्दै सिंहदरबार दक्षिण गेट पुगेका पीडितका परिवार र आफन्तमाथि धरपकड गरेको प्रहरीले १८ जना पुरुष र २ जना महिलासहित २० जनालाई नियन्त्रणमा लिएको हो ।
गत ७ जेठमा आफ्नै घरमा मृत भेटिएकी आरतीको हत्या भएको गरिएको भन्दै पीडितका आफन्तले घटना भएको तीन महिना हुन लाग्दा पनि न्याय नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । आरती हत्याको आरोपमा, परेको जाहेरीको आधारमा श्रीमान् जनकपुरधाम उपमहानगरपालिका ९ थापाचोकका मोतीबाबु साह र ससुरा मदन मोहन अहिले पुर्पक्षका लागि थुनामा छन्। बाबुछोरालाई नै गत असार ५ गते जिल्ला अदालत धनुषाले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। हत्या आरोपमा आरतीको माइती पक्षले उनको श्रीमान, ससुरा मदनमोहन, सासु रेनु देवी र देवर रवि साहविरुद्ध ज्यानसम्बन्धी मुद्दामा किटानी जाहेरी दिएका थिए।
आरतिको सिंगो परिवारका सदस्यलाई बयानको लागि बोलाएर यातना दिएको भन्दै धनुषाका प्रहरी प्रमुख (एसपी) र डीएसपीसहित प्रहरीहरूविरुद्ध पनि मृतकका आफन्तले गत असारमा किटानी जाहेरी दिएका छन् ।
तर प्रहरीले आरतीका आफन्तलाई उनले आत्महत्या गरेको भन्दै आत्महत्या दुरुत्साहनमा मुद्दा दर्ता गर्न दबाब दिएको थियो ।
तर, माइती पक्षले भने आरतीले आत्महत्या गरेको नभएर उनको घरमै हत्या भएको भन्दै कर्तव्य ज्यान मुद्दा चलाउने अडान राखेपछि मात्रै प्रहरीले घटनाको अनुसन्धान थालेकोे थियो। अनुसन्धानमा मृतकको पति र ससुराको मात्र संलग्नता देखिएको भन्दै दुवैविरुद्ध असार १ गते ज्यानसम्बन्धी मुद्दा दर्ता गरेको थियो।
दुई वर्ष अगाडि विवाह भएको आरतीलाई पटक पटक थप दाइजो माग्न उनको पति मोतीबाबु साहको परिवारले दबाव दिदै आएको र आरतीलाई दाइजोकै कारण हत्या गरेको आरतीको माइती पक्षको दाबी छ ।