काठमाडौं, २८ साउन । देशको केन्द्रीय राजधानी काठमाडौंलगायत देशभरी विहानैदेखि झरी परिरहेको छ ।
देशका अधिकांश स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागले देशभर भारी वर्षाका कारण जोखिम बढेपछि सतर्क रहन आग्रह गरेको हो ।
विभागका अनुसार हाल कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केहि स्थानहरू र बाँकी प्रदेशका एक, दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा भइरहेको छ ।
‘देशभर पूर्ण बदली रहनेछ। देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै साथै मधेश प्रदेशको एक–दुई स्थानहरुमा मेघ गर्जन÷चट्याङ्ग सहित भारी देखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ। ’ विभागले भनेको छ ।
त्यस्तै भरे राती देशभर सामान्य देखि पूर्ण बदली रहने विभागले जनाएको छ । रातको समयमा सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा अति भारी बर्षाको समेत सम्भावना रहेको भन्दै विभागले जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
विभागको गत २४ घण्टाको विवरणअनुसार वर्षा भएका २३३ वटा केन्द्रहरुमध्ये सबैभन्दा बढी मकवानपुरको हेटौंडामा १३९.२ मि.मि. वर्षा भएको छ । १७४ वटा केन्द्रहरुमा १० मि.मि. भन्दा बढी, ११४ वटा केन्द्रहरुमा २५ मि.मि. भन्दा बढी, ४५ वटा केन्द्रहरुमा ५० मि.मि. भन्दा बढी र ९ वटा केन्द्रहरुमा १०० मि.मि भन्दा बढी वर्षा भएको विभागले जनाएको छ ।