काठमाडौं, १४ जेठ ।नेकपा पुनर्गठन राष्ट्रिय अभियानका संयोजक तथा राष्ट्रिय सभा सांसद वामदेव गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नो भारत भ्रमणका दौरान भूराजनीतिक संवेदनशीलता ख्याल गर्न सल्लाह दिएका छन ।
आज राष्ट्रियसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीलाई यस्तो सुझाव दिएका हुन् । चार बुँदे सुझाव राखेका उनले नेपाल दुई ठूला र शक्तिशाली छिमेकीका वीचमा रहेको यथार्थलाई आत्मसात गर्नुपर्नेमा जोड दिएका छन । ‘हाम्रो देश एकातिर अजिङ्गर र अर्कोतिर सिंह भएको अवस्थामा छ,बचेर आउनुहोला’, गौतमको सुझाव छ ।
‘हाम्रो देश एकातिर अजिङ्गर र अर्कोतिर सिंह भएको अवस्थामा छ,बचेर आउनुहोला’,
त्यस्तै, गौतमले इपिजी प्रतिवेदन कार्यान्वयनमा लैजान र नेपालको कालापानी क्षेत्र अतिक्रमण गरेर बसेका भारतीय सुरक्षा फौज त्यहाँबाट हटाउन भारतीय पक्षलाई सहमत गराउन पनि प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका छन् । लिम्पियाधुरा नेपाल, भारत र चीनको त्रिदेशीय सीमा बिन्दु हो भन्नेमा दुबै छिमेकीलाई सहमत गराउन नसकेसम्म पन्चेश्वर जलविध्युत परियोजना मुलुकको पक्षमा नहुने भएकाले यसबारे पनि कुरा गर्न उनको सुझाव छ ।
गौतमले कालोधन विदेश पुर्याएर मुलुक टाट पल्टाउनेहरुमाथि तत्काल छानविन गर्न मागसमेत तेर्स्याएका छन । ‘नेपालका ठूला उध्योगपति र सबै धनपतिहरुले मिलेमतोमा लाखौंको धितो राखेर खर्बौं रुपैयाँ नेपालका बैंकहरुबाट लगेका छन्’, उनि दावाका साथ भन्छन् , ‘देशभित्र र बाहिर लगानी गरेर कालोधन कमाइरहेका छन् । अहिले बैंकहरुसँग लगानीका निम्ति पैसा छैन । अख्तियारले तुरुन्त यस्ता विषयमा कारवाही गरोस् ।’


