काठमाडौँ ,१२ वैशाख । बूढानीलकण्ठका मेयर मिठाराम अधिकारीले बूढानीलकण्ठ भित्र मिचिएका सार्वजनिक जग्गा खारेजी गरिने बताएका छन् । उनले समिति नै बनाएर जग्गा खोज्ने काममा नगरपालिका लाग्ने बताएका हुन् ।
रातो सूर्यसँग कुराकानी गर्दै मेयर अधिकारीले सार्वजनिक जग्गा खोज्न समिति नै बनाइन लागेको बताए । उनले भने, ‘समिति नै बनाएर काम गरिनेछ, यसका लागि तयारी भइरहेकाे छ, कसैले जग्गा मिच्न पाउने छैनन् ।’
पूर्व मेयर उद्धव प्रसाद खरेलको पालामा पनि सरोकार समिति बनेको विषयमा मेयर अधिकारीले भने, ‘अहिले पनि उहाँले समितिमा बसेर सहयोग गर्छु भन्नुभए नेतृत्व दिन समस्या छैन, उहाँको रुचि के पाे छ ।’
मेयर अधिकारीले बूढानीलकण्ठका विवादित संरचना, प्लटिङ, माटो कटिङ सबै रोकेर मापदण्ड पूरा गरेर मात्र काम अघि बढाउन एक्सन लिएका छन् । उनले भने, ‘नक्सा हेर्छाैँ । उसकाे प्लानिङ माग्छौँ । एउटा केसमा राजु दाहालको संलग्नता बुझेका छौँ । अरुको बुझेर छलफल अगाडि बढ्छ । मापदण्ड मिच्न पाइनेछैन ।’
मेयर अधिकारीले भने, ‘हामी हुँदाहुँदै बुढानिलकण्ठमा बासै उठाउने, बस्ती उठाउने गरी कटिङ गर्न पाइँदैन, दिइनन् ।’
उनले प्लटिङमा सार्वजनिक खुल्ला क्षेत्र छाड्ने, बाटाे बनाउने विषय हेरिने बताए । काम गरिरहेकाहरूलाई नगरपालिका बेलाएर मापदण्डकाे प्रक्रिया अनुगमन हुने उनकाे भनाइ छ ।
उनले केही विवाद भएका ठाउँमा स्काभेटर नै नियन्त्रणमा लिइएको बताए ।


