लुटको धनमा साखुल्ले जो पनि, दुई भट्टराईले ककसलाई बाँडे मन्दिरको पाँच रोपनी ?

Categories:

-

रातोसूर्य संवाददाता /काठमाडौँ, ६ वैशाख । बूढानीलकण्ठ नगरपालिका वडा नं १० कपन सिद्धेश्वरमा दुई भट्टराईले एक अर्काको मिलेमतोमा सार्वजनिक जग्गा हिनामिना गरेको आरोप सतहमा आएको छ ।

वडा अध्यक्ष नवराज भट्टराई ५ वर्षअघि निर्वाचित हुँदा मन्दिरले १७ रोपनी जग्गा उपभोग भएको थियो । तर, मन्दिरको पुनर्निर्माण र चारै तर्फबाट व्यक्तिका निजी घरलाई बाटो खुलेकाले अहिले मन्दिरसँग ७ रोपनी जग्गा पनि बाँकी छैन । सार्वजनिक जग्गा जोगाउन आन्दोलन गरिरहेका स्थानीयले जग्गा हिनामिनाको आरोप लगाएका छन् ।

वडा अध्यक्ष भट्टराईले सडक विस्तारका लागि सार्वजनिक जग्गा बाँडफाँड गरेको आरोप लागेको छ भने वडाअध्यक्षका काकासमेत रहेका मन्दिर संरक्षण समितिमा दुई कार्यकाल अध्यक्ष भएर काम गरेका उद्धव भट्टराईले यो काममा सघाउने गरेको पाइएको छ । दुई भट्टराईको मिलेमतोमा सार्वजनिक जग्गा बाँडफाँड र हिनामिना भएको स्थानीयको भनाइ छ । कपन सिद्धेश्वरमा आना होइन, रोपनीका रोपनी जग्गा दुई भट्टराईको मिलेमतोमा दम्पच हुनु अनि स्थानीयले नदेखेजस्तरी बस्नु, त्यो पनि मिल्ने कुरै भएन ।

नेकपा एमाले काठमाडौं जिल्ला सदस्य तथा वातावरण विभाग सदस्य रामकुमार पोखरेलले स्थानीय सरकारले सम्बन्धित निकायसँग समन्वय गरी सरकारी जग्गाको संरक्षण र प्रवर्द्धन गर्नुपर्नेमा त्यस्तो नगरेको भन्दै कडा शब्दमा भ्रत्र्सना गरे । उनले केही पहुँचवालालाई पुरानो बाटोमा थप सार्वजनिक जग्गाबाट बाटो थपिदिने कार्य भइरहेकोले आफूहरू विरोधमा उत्रिएको बताए ।

स्थानीयलाई बाटो दिन हुँदैन भनिएको होइन, तर सबै सडक सार्वजनिक जग्गाबाट दिने हो भने सार्वजनिक जग्गा बाँकी रहँदैन भन्ने विषय उनीहरुले उठाउनु अपराध पनि त होइन जति मन्दिरको जग्गा घप्ला पारिएको छ । उनले वडाअध्यक्ष निर्वाचित हुँदा मन्दिरको जग्गा कति थियो र अहिले ६ वर्षको अवधिमा कति बाँकी छ सरकारी अमिनी ल्याएर नाप्न वडाले  किन खुट्टा काँपिरहेको छ भन्ने प्रश्न पनि गरेका छन् ।

स्थानीय समाजसेवी केदारराज गौतम स्थानीय समुदायका लागि ठूलो मूल्यको सार्वजनिक जग्गाको संरक्षणका लागि मन्दिर व्यवस्थापनले काम गर्नुपर्ने बताउँछन् । उनले सार्वजनिक जग्गा हिनामिनाको आरोप स्थानीय सरकारले छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्नेमा जोड दिए । सार्वजनिक जग्गा जनताको हो, व्यक्तिगत स्वार्थमा प्रयोग गरिनु हुँदैन ।

स्थानीय फ्रेन्डसिप युवाक्लबका सदस्य कर्ण तामाङका अनुसार, सार्वजनिक जग्गाको संरक्षण र दुरुपयोग हुन नदिन स्थानीय निकायले पहल गर्नुपर्ने बताए । उनले सार्वजनिक जग्गा बाँडफाँडका लागि पारदर्शी प्रक्रिया हुन जरुरी रहेको भन्दै स्थानीय सरकारले निर्णय प्रक्रियामा स्थानीय समुदायलाई समावेश गरे आँखै अगाडिको माटो भूस पार्दा कमजोरी नै भए पनि आलोचना कम हुने र दोष अरुको पनि भागमा पर्ने बताए ।

स्थानीय एवम् कानुन व्यवसायी समेत रहेका कृष्ण अधिकारी भने सार्वजनिक जग्गाबाट स्थानीयले सडक पाउनु पर्ने तर्क गर्दछन् । सबैले सार्वजनिक सम्पत्ति उपभोग गर्न पाउनुपर्ने उनको भनाइ छ । उनले हिजो सडक नभएका स्थानीयलाई आज सडक दिनु नहुने तर्क उचित नभएको बताए । तर, कति दिने र कुन प्रयोजनका लागि दिने भन्ने विषयमा स्थानीय सरकारले स्थानीयलाई प्रष्ट पारिदिनुपर्ने कुरामा उनको पनि सहमति छ ।

सार्वजनिक जग्गा हिनामिनाको मुद्दा नेपालमा नौलो होइन । सार्वजनिक जग्गाको दुरुपयोग वा अवैध कब्जाका धेरै घटना भएका छन् । कानुन मिच्ने र सार्वजनिक जग्गाको दुरुपयोग गर्नेलाई सरकारले कडा कारबाही गर्नुपर्छ । सार्वजनिक जग्गाको दुरुपयोगले बहुमूल्य स्रोतमा पहुँच गुमाउने र वातावरणको विनाशलगायत स्थानीय समुदायलाई गम्भीर असर परिरहेको छ ।

कपन सिद्धेश्वरमा सार्वजनिक जग्गा हिनामिना गरेको आरोपको स्थानीय सरकारले छानबिन गरी सार्वजनिक जग्गाको संरक्षण र दुरुपयोग रोक्न उचित कारबाही गर्नुपर्छ । सार्वजनिक जग्गा जनताको हो, व्यक्तिगत स्वार्थमा प्रयोग गर्नुहुँदैन । मन्दिर व्यवस्थापनले सार्वजनिक जग्गाको रक्षा गर्न काम गर्नुपर्छ, जुन धेरै मूल्यवान छ।

किन भयो विवाद ?

प्राप्त जानकारीका आधारमा कपन सिद्धेश्वर मन्दिर नजिकको सार्वजनिक जग्गाको प्रयोग र स्वामित्वलाई लिएर विवाद भएको हो । २०२२ मा भएको सर्वेक्षणले ५५ रोपनी सार्वजनिक जग्गा रहेको देखाए पनि विस्तारै भूमाफियाले अतिक्रमण गरिरहे । २०५१–५२ सालमा कपन गाविसले हाल नगरका मेयर रहेका मिठाराम अधिकारीको नेतृत्वमा यहाँको सार्वजनिक जग्गा १० रोपनी घटेर ४५ रोपनी मात्रै सार्वजनिक जग्गा बाँकी रहेको पत्ता लगायो । हेर्दाहेर्दै १० रोपनी माटो खरानी भयो । खरानी घस्नेहरु चैँ जोगी भएनन्, धनी भए ।

सार्वजनिक जग्गा संरक्षण चुनौती बनेपछि बालउद्धार मावि, कपन क्याम्पस, ह्यान्डबल खेल मैदानलगायत विभिन्न संस्थालाई २२ रोपनी जग्गा वितरण गरेपछि बाँकि २२ रोपनी जग्गामा कपन सिद्धेश्वर मन्दिर स्थापना गरी भोगचलन हुँदै आएको थियो । यसपछि बूढानीलकण्ठ नगरपालिका स्थापना भयो र नगरपालिका स्थापना हुँदा मेयर उद्धव खरेलको नेतृत्वमा सर्वदलीय सार्वजनिक जग्गा खोजबिन समिति बन्यो । समितिले सिद्धेश्वर मन्दिरसँग २२ रोपनीबाट घटेर १७ रोपनी जग्गा रहेको बतायो । उद्धवप्रसाद खरेल बूढानीलकण्ठ नगरपालिकाका प्रथम मेयर बने तर उनले आफैँले खोजेको सार्वजनिक जग्गाको प्रतिवेदन भने सार्वजनिक गरेनन् । सुनको मूल्य चैँ बढिरहेको काठमाडौँको जग्गा आनाको त हिसाब हुन्छ, ५ रोपनीको विवरण नै गायव भयो ।

खरेलसँगै निर्वाचित भएका नवराज भट्टराईको नेतृत्वले सडक मानवीय आवश्यकता भन्दै सार्वजनिक जग्गाबाट बाटो दिँदै आयो । मन्दिरको पश्चिमपट्टि रहेको निजी घरलाई बाटो खोलियो भने मन्दिरको उत्तरतर्फ पनि बाटो दिइयो ।

उतिबेला बाटो नै नभएको घरलाई खोलिएको ६ फिटे बाटोलाई १२ फिटे बनाउन पुननिर्वाचित प्रतिनिधि नै तम्सेर आएपछि स्थानीयले आपत्ति जनाएका हुन् । मन्दिर संरक्षण समितिले रूख काटेर मन्दिरको संरक्षणका लागि ढुङ्गाको पर्खाल निर्माण गरिरहेको छ । यहाँ मन्दिर र त्यसको जग्गा जोगाउन चाहने र निजी प्रयोजनका लागि जग्गा प्रयोग गर्न चाहनेबीच विवाद छ । देवीदेवता बोल्दैनन् । मठमन्दिरको जग्गा भाग लगाउनेहरुले पाएको मौका भनेर अहिले नछाडे पनि एकदिन कठघरामा उभिनै पर्छ भन्ने सामान्य ख्याल गरिदिए कलियुगमा पनि सत्य र धर्म छ भन्ने बुझ्थे जनताले ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य