काठमाडौँ, ३ फागुन । बुढानीलकण्ठ नगरपालिका वडा नं २ को बदेली (सिमलडाँडा)स्थित विवादित केसियल कालोनीबारे छानबिन गर्न समिति गठन गरिएको छ । सुरेन्द्र तामाङ संयोजक रहेको पाँच सदस्यीय समितिलाई उक्त क्षेत्रमा अवैध बस्तीको छानबिन गर्ने जिम्मा दिइएको छ ।
समितिमा राजेन्द्र श्रेष्ठ (वडा नं. २), शहरी विकास तथा पूर्वाधार विकास महाशाखा प्रमुख ई. सुनिल महर्जन, शहरी तथा पूर्वाधार विकास शाखाबाट ई. दिपक भण्डारी एवं अमिन राजकुमार श्रेष्ठ (पूर्वाधार शाखा) रहेका छन ।
समितिले हिजो केन्द्र सरकार मातहत रहेको नापी शाखासंग मिलेर केसियल कालोनीको सर्वेक्षण गरेको थियो । बूढानीलकण्ठ नगरपालिकाका मेयर मीठाराम अधिकारी, वडा नम्बर १२ का वडा अध्यक्ष शम्भु भट्टराई लगायत समूह सामेल भएको टोलीले कोलोनीको जग्गा नापेको थियो । मापन रिपोर्ट छिट्टै प्रकाशित हुने अपेक्षा गरिएको छ।
उक्त क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी संरचना निर्माण गरेको भन्दै चिन्ता उठेपछि समिति गठनगरी कारबाही अघि बढेको हो । सार्वजनिक जग्गा अतिक्रमण गरी अवैध रूपमा बस्ती निर्माण गरिएको स्थानीयको आरोप छ ।
नक्सा पास गर्ने प्रक्रिया र सार्वजनिक जग्गाको संरक्षणमा कडाइ गरे पनि नगरपालिकाले अवैध निर्माणमा उदासीनता देखाएको आरोप छ ।
केसियल नामको कम्पनीले निर्माण गरेको घरहरू त्यहाँको सार्वजनिक खुला क्षेत्र छाड्नु पर्ने भएपछि केसियल कालोनीका घर व्यक्तिको नाममा हस्तान्तरण गरिएको जानकारी छ ।
काठमाडौं उपत्यका विकास प्राधिकरणले कूल जग्गाको ५ प्रतिशत सार्वजनिक खुला ठाउँका रूपमा छोड्नुपर्ने भनेको छ । प्राधिकरण नियमअनुसार चल्ने हो भने करिब ६ आना जग्गा छोड्नुपर्छ । तर, घर निर्माण गर्दा नगरपालिका वा काठमाडौं उपत्यका विकास प्राधिकरणबाट नक्सा पास गराउन स्वीकृति लिएको छैनन् ।
समितिको गठन र सर्वेक्षण केसियल कोलोनीको विवादलाई सम्बोधन गर्ने दिशामा महत्त्वपूर्ण कदम हो । अनुसन्धानले यस क्षेत्रमा अवैध निर्माण गरिएको घर एवं मिचिएको सार्वजनिक जमिनको बारेमा सत्यता पत्ता लगाउने र उचित कानूनी प्रक्रिया पछ्याउने आशा गरिएको छ। सार्वजनिक जग्गाको दुरुपयोग र अवैध बस्ती निर्माणका सम्बन्धमा समुदायले उठाएका चिन्तालाई सम्बोधन गर्न आगामी दिनमा के–कस्ता कदम चाल्छन् भन्ने कुरा जनताले नजिकबाट हेरिरहेका छन् ।




