काठमाडौँ, १९ माघ । बूढानीलकण्ठ नगरपालिकाले हरेक मौसममा खानेपानीको ठूलो समस्या भोग्दै आएको छ । राजनीतिक दलहरूले आफ्नो घोषणापत्रमा स्थानीयवासीलाई खानेपानी उपलब्ध गराउने वाचा गरे पनि यो वाचा पूरा गर्ने ठोस योजना भने आउन सकेको छैन । अधिकांश खानेपानी आयोजनाहरूले जमिनमुनिबाट पानी निकाल्ने गरेका छन्, जसले गर्दा जमिनको पानी सुक्दै गएको र वातावरणीय क्षय भइरहेको छ ।
बूढानीलकण्ठ नगरपालिका वडा नं १० मा सञ्चालित गैरनाफामूलक संस्था जोरधारा खानेपानी संस्थाले जमिनमुनिको पानी निकालेर प्रशोधन गरी उपभोक्तालाई बेच्दै आएको थियो । तर, जमिनमुनि बाट निकालिएको धेरै बोरिङबाट पानी आउन छोडेपछि संस्था विगत ८ महिनादेखि बन्द छ । नगरले थप बोरिङ खन्न नदिएपछि संस्थाका अध्यक्ष ठाकुर खकुरेलले राजीनामा दिएर चाबी नगरपालिकालाई दिने धम्की दिएका छन् ।
अर्को संस्था लोकेश्वर खानेपानी उपभोक्ता समिति अहिले विवादमा परेको छ । संस्थाले विभिन्न सरकारी निकायबाट रकम जुटाएर ११ सय घरधुरीमा पानी वितरण गर्ने योजना बनाएको छ । करिब १९ करोड लागत लाग्ने योजनामा प्रदेश सरकारको पनि लगानी रहेको छ । २ वर्ष भित्र सकिने गरि भएको उक्त कार्यलाई उपभोक्ताहरूले ३५ प्रतिशत पैसा खर्चनु पर्ने छ ।
उत्खनन गरिएको बोरिङ र विस्तार हुने धाराको मूल्यमा राजनीति हुनलागेपछी अध्यक्ष रवीन्द्र थापा मानसिक तनावमा पुगे भन्दै विभिन्न शक्तिकेन्द्रलाई गुनासो गर्दै हिँडेका छन् । यसै विषयमा ध्यानाकर्षण गराउन रबिन्द्र थापा बुढानीलकण्ठ नगरपालिकाका मेयरको कार्यालय पुगेका थिए । बूढानीलकण्ठ नगरपालिकाको खानेपानी सङ्कटको थप दिगो समाधानको आवश्यकतालाई यी संस्थाहरू वरपरको दबाब र विवादले उजागर गरेको छ।
अधिकांश खानेपानी आयोजनाहरू जमिनमुनिको पानी निकाल्ने त्यसलाई प्रसोधन गर्ने र वितरण गर्ने गर्छन यसो गर्दा उपभोक्ताहरूलाई लागत मूल्य धेरै पर्ने गरेको छ । यसो गर्दा अहिलेलाई समस्या समाधान भएको जस्तो देखिन्छ। तर, यो दिगो विधि होइन। बोरिङले जमिनको पानी घटाउँछ र वातावरणलाई असर गर्छ। बूढानीलकण्ठ नगरपालिकामा खानेपानीको समस्या समाधान गर्न दीर्घकालीन समाधान आवश्यक छ ।
बूढानीलकण्ठ नगरपालिकाका बासिन्दा लामो समयदेखि खानेपानीको भरपर्दो स्रोतको पर्खाइमा छन् । राजनीतिक दलहरूले घरघरसम्म खानेपानी पुर्याउने प्रतिबद्धता गरे पनि पहल नभएपछि स्थानीयवासी निराश बनेका छन् । खानेपानी संस्थाहरू वरपरका विवादहरूले बासिन्दाहरूको निराशा मात्र थपेको छ ।

