काठमाडौँ ४ मा खुल्यो संयुक्त सांसदको कार्यालय, गगन भन्छन् :प्रचण्ड र माधव पदलोलुप नभएकाले पुरानो गठबन्धन ब्युँतिएयो

-

काठमाडौँ,१६ फागुन। नेपाली काँग्रेसका महामन्त्री गगन थापाले चुनावका बेला जनतामाझ गरेको प्रतिबद्धताअनुसार तत्कालीन पाँचदलीय गठबन्धन ब्युँताइएको बताएका छन् । पुस १० गते माओवादी केन्द्र र एमालेबीच अप्राकृतिक गठबन्धन बनेकाले जनताको म्यान्डेडअनुसार त्यसलाई सच्याएर राजनीतिलाई सही ट्रयाकमा ल्याइएको पनि उनले दाबी गरे।

काठमाडौँको सिफलमा आज सांसददहरुको संयुक्त कार्यालय उत्घाटन  कार्यक्रममा थापाले भने, ‘विशिष्ट परिस्थितिमा हामी गठबन्धन गरेर चुनावमा गएका थियौँ । त्यो हाम्रो रहरभन्दा पनि देशको आवश्यकता थियो । त्यसकारण गठबन्धनलाई भोट हाल्ने मतदाताको मतको कदर गर्न पनि त्यो गठबन्धन पाँच वर्ष जानुपथ्र्यो । तर, पुस १० गते हामीले गल्ती गरेका थियौँ, अहिले त्यसलाई सच्याएर पुनः एक ठाउँमा आएका छौं । यो स्वाभाविक पनि छ ।’

महामन्त्री थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पदको लोभ छोडेर चुनावका बेला जनतासँग गरेको बाचा पूरा गर्न अग्रसरता देखाएको भन्दै प्रशंसासमेत गरे । एमालेसँगको गठबन्धनबाटै प्रधानमन्त्री बनिरहन सक्ने सुविधा हुँदाहुँदै प्रचण्डले पुरानो गठबन्धनमा फर्किने निर्णय गरेकाले सही निर्णयलाई सही भन्नसक्नुपर्ने उनको भनाइ छ ।

‘माओवादी केन्द्रका अध्यक्षले आफू प्रधानमन्त्री मात्रै हुने कुरा सोचेको भए पुस १० कै गठबन्धनमा बसेर उहाँलाई सजिलो हुन्थ्यो होला’, थापाले भने, ‘हामीले सहीलाई सही र गलतलाई गलत भन्न सक्नुपर्छ । एमालेसँगको गठबन्धनमा पनि राष्ट्रपति एमालेले पाउँथ्यो, माओवादीले पाउँदैनथ्यो । अहिलेको गठबन्धनमा काँग्रेसको उम्मेदवार बन्नुभएको छ । यो गठबन्धनमा आएर माओवादीले धेरै कुरा पाएको होइन ।’

त्यस्तै, महामन्त्री थापाले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पनि राष्ट्रपति बन्न सक्ने अवस्था हुँदाहुँदै त्यसलाई छोडेर पुरानो प्रतिबद्धतामा फर्किएको बताए । पुस १० गते गल्ती भएको हो भन्ने बोध भएर सबै नेता त्यसलाई सच्याउने बिन्दुमा आइपुगेपछि गठबन्धन ब्युँतिएको उनको भनाई छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदमा उभिएर प्रतिनिधिसभा विघटनको आफ्नो कदमको बचाउमा बोलेकै दिनदेखि समीकरण फेर्न आफूहरु लागेको भनेका थापाले त्यसमा लुकाउनुपर्ने केही नभएको पनि उल्लेख गरे । कार्यक्रममा नेपालीकांग्रेसका अलावा नेकपा मवावादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति थियो ।

थापाले आफ्नो चुनावीसभाहरुमा गठबन्धन दलहरु बाट सहभागी दलहरुका सांसदहरुको  युक्त कार्यालय खोल्लने बताएका थिए भने उक्त कार्यालयले स्थानीय निर्वाचन क्षेत्रको विकास निर्माण एवम् समस्याहरुलाई सम्बोदन गर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य