काठमाडौँ,३० पुष । हुवावेले उपलब्ध गराएको चिनियाँ प्रविधिको प्रयोगबारे अमेरिकाले दिएको चेतावनीपछि नेपाल टेलिकमको ५जी प्रविधिको परीक्षण गर्ने योजना रोकिएको छ । अमेरिकाले यो प्रविधि अमेरिकी सूचनामा पहुँच गर्न प्रयोग हुनसक्ने चिन्ता व्यक्त गर्दै नेपाल टेलिकमलाई हुवावेलाई फाइभजी योजनाबाट हटाउन बारम्बार आग्रह गरेको छ ।
पुष १७ मा हुने भनिएको फाइभजी ट्रायल अमेरिकी दूतावासको दबाब र डाटा सुरक्षाको चिन्ताका कारण रोकिएको थियो। सञ्चार मन्त्रालयका एक वरिष्ठ अधिकारीले अमेरिकी अधिकारीको दबाबका कारण परीक्षण रोकिएको स्वीकार गरेका छन् ।
हुवावेले उपलब्ध गराएको प्रविधि नेपाल मात्र नभई अमेरिकी सूचना बेइजिङसम्म पुग्ने आशंका अमेरिकाले गरेको छ । ‘फोरजी अपग्रेड गर्दा हुवावेको प्रयोगका कारण यहाँका सबै सूचना बेइजिङमा पुगेका छन्। यो गम्भीर विषय हो,’ अमेरिकी दूतावासका एक वरिष्ठ कूटनीतिज्ञले सञ्चार मन्त्रालयका अधिकारीलाई भने, ‘तपाईले जुनसुकै प्रविधि प्रयोग गर्न सक्नुहुन्छ। यदि तपाईंले हालको प्रविधि प्रयोग गरेर 5G लाई अगाडि बढाउनुभयो भने, हामी यसलाई गम्भीर रूपमा लिनेछौं।
दूतावासको यही दबाबका कारण तयारी भैसकेको टेलिकमको फाइभजी परीक्षण रोकेको स्रोतले जनाएको छ । नेपाल टेलिकमले फाइभजी कम्प्याटिबलसेट पर्याप्त नभएको भन्दै पुष १७ गते अर्थात् अन्तिम समयमा सुरु हुन लागेको परीक्षण रोकेको छ ।
हुवावेलाई फाइभजी प्लानबाट हटाउन नेपाल टेलिकममाथि अमेरिकाको दबाबले डाटा सुरक्षा र नेपालको दूरसञ्चार उद्योगमा पर्ने सम्भावित प्रभावबारे गम्भीर प्रश्न खडा गरेको छ।


