शंखरापुर–३ बोजेनीवासीले सबस्टेसन निर्माणको अवरोध हटाए

Categories:

-

काठमाडौँ,३० पुष । काठमाडौंको शङ्खरापुर–३ बोजेनीमा सबस्टेसन निर्माणमा अवरोध गर्ने आन्दोलनकारी र  नेपाल विद्युत् प्राधिकरणसँग सहमति भएको छ । सहमतिमा आन्दोलन स्थगन गर्ने र सबस्टेसन निर्माणस्थलमा स्थानीयवासीले गरेको अवरोध फिर्ता लिने पनि समावेश छ । बस्तीमा सबस्टेसन नबनाई अन्य ठाउँमा सार्नुपर्ने माग राख्दै  स्थानीयवासीले त्यहाँ आन्दोलन गरिरहेका थिए ।

शान्ति सुरक्षाका लागि स्थानीय प्रशासनले तैनाथ गरेको प्रहरी तत्काल फिर्ता गर्ने पनि सम्झौतामा उल्लेख छ । तामाकोसी, सुनकोसी नदी र सहायक नदीमा रहेका जलविद्युत आयोजनाको विद्युत काठमाडौं उपत्यकामा ल्याउने योजनाअन्तर्गत सबस्टेसन निर्माण गरिएको हो । स्थानीय आपूर्तिका लागि लप्सेफेदीमा ४००/२२०/१३२/११ केभी सबस्टेसन पनि निर्माण गर्ने योजना छ।

आयोजनाबाट परेको सकारात्मक र नकारात्मक असरबारे स्थानीयसँग छलफल गर्न र माग मूल्याङ्कन गर्न समन्वय समिति गठन गरिएको छ । समितिले स्थानीय जनतासँग अन्तरक्रिया गरी पाँच दिनभित्र आफ्नो कार्यसूची तयार गरी आयोजना पेश गर्नेछ । प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले स्थानीयवासीमा पर्ने असरलाई न्यूनिकरण गर्दै आयोजनालाई अगाडि बढाउनुपर्ने बताए ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबै कानुनी प्रक्रिया पूरा भइसकेको र उपलब्ध विकल्पमध्ये हाल छनोट भएको स्थान उत्कृष्ट भएकाले सबस्टेसन सार्न नसकिने स्पष्ट पारे। जग्गाधनीले स्वेच्छाले मुआब्जाको रकम स्वीकार गरेको र ठेक्का सम्झौता भइसकेको पनि उनले बताए ।

काठमाडौं-२ की सांसद सोबिता गौतम, नगर प्रमुख रमेश नापित, काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र वडाध्यक्षहरुको उपस्थितिमा आन्दोलनरत पक्षसँग शुक्रबार झण्डै पाँच घण्टा वार्ता भएको थियो।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य