रेशम चौधरीको रिहाइमा पुष्पकमल दाहाल प्रचण्डको विरोधाभासपूर्ण अभिव्यक्तिले उठ्यो प्रश्न

-

काठमाडौँ,३० पुष ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएपनि नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी हुन सकेको छैन । टीकापुर घटनामा संलग्नताको आरोपमा जेलमा रहेका रेशम चौधरी रिहा नभएसम्म सरकारमा नजाने नागरिक उन्मुक्तिको अवस्था छ । रेशमकी धर्मपत्नी तथा उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले माघ २६ गते प्रचण्डलाई विश्वासको मत दिँदै भनिन्– न्याय नपाएसम्म हामी सङ्घर्ष जारी राख्छौँ, संसदमा हाम्रो आवाज उस्तै रहनेछ ।

प्रचण्डले केही वर्षदेखि चौधरीलाई रिहा गर्ने आश्वासन दिँदै आएका छन् चाहे प्रधानमन्त्री हुँदा होस् वा सरकार बाहिर रहदा । तर, उनको पछिल्लो अभिव्यक्ति र गतिविधिले उनको राजनीतिक अनुकूलतालाई केन्द्रित गरेको छ ।

कहिले प्रचण्डले चौधरीसँग कहिल्यै भेट नभएको दाबी गर्छन् त कहिले प्रधानमन्त्रीका रूपमा चौधरीलाई भेट्ने पहिलो व्यक्ति भएको भन्दै खण्डन गर्ने प्रयास गर्छन् । यसले भ्रम पैदा गरेको छ र उनको वास्तविक नियतमाथि प्रश्नहरू खडा गरेको छ।

२०७३ मा प्रचण्डले प्रधानमन्त्रीका रूपमा भारत भ्रमण गरेपछि दिल्लीमा एक व्यापारीले आयोजना गरेको कार्यक्रममा चौधरीलाई भेटेका थिए । टीकापुर घटनामा संलग्न रहेको भन्दै प्रहरीले पक्राउ गर्न खोजेपछि चौधरी भारत प्रवेश गरेका थिए । प्रहरीको फरार सूचीमा रहेका व्यक्तिलाई प्रधानमन्त्रीले भेटेको भन्दै प्रचण्डको चर्को आलोचना भएको थियो । तर प्रचण्डले त्यतिबेला भेट नभएको दाबी गरे ।तर, झुटको सहारामा चौधरीसँग भेट नगरेको प्रचण्डको दाबी धेरै दिन टिक्न सकेन । बरु उनले २०७६ माघ १ मा काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा दिल्लीमा भएको भेटघाटको गोप्य खुलासा गरेका थिए।

प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री हुँदा उनले भारतको दिल्लीमा रेशमलाई भेटेको कुरा खुलेरै गरेका थिए।दोस्रो पटक प्रधानमन्त्री बाट हटेपछि मात्रै आफ्नो बोली परिवर्तन गरेर  भेटेको दावीगर्ने प्रचण्डले तेस्रो पटक प्रधानमन्त्री हुँदा संसदको रोस्ट्रममा उभिएर रेशम चौधरीलाई प्रधानमन्त्रीका रूपमा भेटेको बताए ।

कहिले चौधरीको पक्षमा झुट बोल्ने त कहिले आफ्नै बोलीको खण्डन गर्ने प्रचण्डले तेस्रो कार्यकाल सम्हालेका छन् । सबैको मनमा प्रश्न छ चौधरी रिहा हुने कि नहुने ? प्रश्न उन्मुक्ति पार्टीले सत्तारुढ गठबन्धनलाई सोधेको छ ।

२०७२ भदौ ७ गते मधेस–थरुहट आन्दोलनका क्रममा कैलालीको टीकापुरमा प्रहरी एसएसपी लक्ष्मण न्यौपानेसहित आठ प्रहरी र एक बालकको ज्यान गएको थियो । घटनापछि अदालतले चौधरीलाई टीकापुर घटनाको मुख्य योजनाकार भएको फैसला गरेको थियो । त्यसयता राजनीतिक दलका नेताहरूले चौधरीलाई सत्ता संघर्षमा प्यादाका रूपमा प्रयोग गर्दै आएका छन् ।

रेशम चौधरीको रिहाइमा प्रचण्डको विरोधाभासपूर्ण भनाइले उनको वास्तविक नियत र खेलमा राजनीतिक चालबाजीको स्तरमाथि प्रश्न खडा गरेको छ। चौधरीलाई रिहा गर्ने र यो घटनामा साँच्चै न्याय हुन्छ कि हुँदैन त्यो हेर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य