वामपन्थी नेता घनश्याम भुसाल नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश

-

काठमाडौँ,२९ पुष ।वामपन्थी नेता घनश्याम भुसालले माधव नेपालको नेतृत्वमा रहेको नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेको घोषणा गरेका छन् । शुक्रबार काठमाडौंको एक होटलमा पत्रकार सम्मेलन गर्दै भुसालले नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेको घोषणा गरेका हुन् ।

एकीकृत समाजवादी सैद्धान्तिक विचारधाराका हिसाबले तत्कालीन नेकपाको उत्तराधिकारी भएकाले आफूले यो पार्टी रोज्नुपरेको भुसालले बताए । मंसिर ४ गते भएको निर्वाचनमा एमालेबाट टिकट नपाएपछि उनी स्वतन्त्र उम्मेदवार बनेका थिए । उनी एमालेका सचिवसमेत रहेका छविलाल विश्वकर्मासँग पराजित भएका थिए ।

भुसालले नेकपा एकीकृत समाजवादीले वाम एकताका लागि गठित वार्ता समितिलाई ५ बुँदे प्रस्ताव राखेका थिए । भुसालको प्रस्तावलाई एकीकृत समाजवादीले स्वागत गरेपछि उनी पार्टी प्रवेश गरेका हुन् । पार्टी प्रवेशको घोषणा गर्दै भुसालले नेकपा विभाजनका कारण मुलुकले समृद्धि र विकासको अवसर गुमाएको बताए । उनले एमालेले जनताको बहुदलीय लोकतन्त्रको अनादर गरेको आरोप समेत लगाए ।

पत्रकार सम्मेलनमा भुसालले ‘ओली सिद्धान्त, ओलीवाद र ओली संगठन’का कारण कम्युनिष्ट आन्दोलन संकटमा परेको भन्दै एमाले पार्टीप्रतिको आफ्नो निराशा जाहेर गरे । उनले भने, ‘यस्तो अवस्थामा म नेकपा एमालेमा बस्न सक्दिनँ । उनले एमालेका नेताहरु जनताको बहुदलीय जनवाद भन्ने तर, एकातिर हलो र अर्कोतिर घण्टी राखेर बालकोटबाट सरकार चलाएको आरोप लगाए ।

भुसालले माओवादीले देशमा सकारात्मक परिवर्तन गर्न नसकेको आरोप लगाउँदै हिजोको अवस्थामा फर्केको भन्दै आलोचना गरे । अहिले पनि एमालेले संसदमा राम्रो मत पाए संसद फेरि विघटन हुने उनको भनाइ छ ।

घनश्याम भुसालको नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश हुनु नेपालको राजनीतिक परिदृश्यमा महत्वपूर्ण विकास हो । बलियो समाजवादी विचारधाराका लागि परिचित भुसालले पार्टीमा नयाँ दृष्टिकोण र विचार ल्याउने अपेक्षा गरिएको छ ।
उनको प्रवेशले पार्टीको भविष्य र देशको राजनीतिमा कस्तो प्रभाव पार्छ त्यो भने हेर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य