मकवानपुर,२९ पुष । हिजो राति एउटा स्कुटरलाई अन्य दुई सवारी साधनले ठक्कर दिँदा भएको दुर्घटनामा मकवानपुरमा तीन युवाको ज्यान गएको छ । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–९ ज्यामिरे स्थित भलादमीचोकमा स्कुटर दुर्घटना भएको हो । दुर्घटनामा परी स्कुटर चालक सहित तीन जनाको ज्यान गएको मकवानपुर प्रहरीले जनाएको छ ।
दुर्घटनाग्रस्त स्कुटरलाई अन्य दुई सवारी साधनले ठक्कर दिएपछि ठूलो मानवीय क्षति भएको हो । राति १० बजेर ५० मिनेटमा ना. ३९ प १४३९ नम्बरको स्कुटर दुर्घटना हुँदा मनहरी गाउँपालिका वडा नम्बर–८ सिमपानी बस्ने अन्दाजी ३२ वर्षीय धर्मराज मोक्तान, स्कुटरमा सवार सोही स्थान बस्ने अन्दाजी ३० वर्षीय मिलन मोक्तान र राक्सिराङ गाउँपालिका वडा नम्बर–३ लावती बस्ने ३२ वर्षीय रुपेश तामाङको ज्यान गएको हो ।
उनीहरु तीनै जनाको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ । ठक्कर दिने सवारीको अहिलेसम्म पहिचान हुन सकेको छैन । मृतकहरु पश्चिम मकवानपुरमा स्थानीय खेलकुद र सामाजिक क्षेत्रका क्रियाशील भएकाले युवामाझ लोकप्रिय थिए ।
यस घटनाले सडक सुरक्षाको महत्व एवं त्यस्ता दुर्घटना हुन नदिन सबै सडक प्रयोगकर्ताले सावधानी अपनाउन र ट्राफिक नियमको पालना गर्नुपर्ने आवश्यकताको सम्झना गराएको छ ।
प्रहरीले घटनाको अनुसन्धानमा सहयोग पुग्ने कुनै पनि जानकारी लिएर आउन सर्वसाधारणलाई अपिल गरेको छ ।


