काठमाडौँ,२८ पुष ।नेपाल सरकारका एक कर्मचारीलाई दोहोरो नागरिकता धारण गरेको भन्दै नेपालको कानुन उल्लंघन गरेको आरोप लागेको छ ।
दोहोरो नागरिकता लिएको आरोप लागेका उपसचिव हुन्, रविन्द्रलाल दास । दास अहिले सडक विभागमातहत सूर्यविनायक–धुलिखेल–बर्दिबास सडक आयोजनाका हाकिम छन् ।उनले बिहारको ठेगानामा भारतीय नागरिकता लिएको र जिल्ला प्रशासन कार्यालय पर्साबाट नेपाली नागरिकता लिएको आरोप छ ।
दासका आमा, बुवा र श्रीमतीले पनि पर्साबाट नेपाली नागरिकता लिएको उजुरीमा उल्लेख छ । यो मुद्दा हाल राष्ट्रिय सतर्कता केन्द्र र अन्य सरकारी निकायहरूमा अनुसन्धान भइरहेको छ।
लामो समय सडकमा बसेका र भौतिक पूर्वाधार मन्त्रालयको सचिवबाट तानिएर अहिले राष्ट्रिय सतर्कता केन्द्रमा थन्क्याइएका रविन्द्रलाल श्रेष्ठकै अग्रसरतामा सडककै एक आयोजनामा मस्ती गरिरहेका उपसचिवविरुद्ध परेको दोहोरो नागरिकताबारे ‘दूधको दूध, पानीको पानी छुट्टाउन’ सरकारी निकायले गृहलाई निवेदन हालेको हो ।
यस विषयमा गृह प्रशासनसँग सोधपुछ गर्दा उनीहरुले अनुसन्धान जारी रहेको भन्दै बोल्न मानेनन् । जनताले तिरेको करबाट तलब भत्ता बुझ्ने सरकारी कर्मचारीले एक हातमा विदेशी नागरिकता र अर्को हातमा नेपाली नागरिकता लिएको आरोप लागेपछि यस विषयमा गृह मन्त्रालय गम्भीर भएको छ ।
दासले दोहोरो नागरिकता लिएको पुष्टि भएमा उनको नेपाली नागरिकता खारेज हुने र एक वर्षदेखि पाँच वर्षसम्म कैद वा ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ ।


