काठमाडौँ ,२३ पुष ।गोकर्णेश्वर नगरपालिका र नेपाल अर्थोपेडिक अस्पतालबीच नगरपालिकाका ज्येष्ठ नागरिकलाई अस्पतालमा सहुलियतमा उपचार गर्न दिने सम्झौता भएको छ । शुक्रबार भएको सम्झौतामा नगरपालिकाका ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई शल्यक्रिया र अस्पताल शुल्कमा ३० प्रतिशत छुट दिने भएको छ । यस छुटको २० प्रतिशत रकम नगरपालिकाले बेहोर्ने छ। सम्झौताको सर्त अनुसार प्रतिव्यक्ति प्रति वर्ष १ लाख रुपैयाँसम्मको उपचार रकम बराबर छुट हुनेछ ।
सम्झौतामा नगरपालिकाका तर्फबाट नगर प्रमुख दीपककुमार रिसाल, उपप्रमुख सन्नानी लामा, प्रमुख प्रशासकीय अधिकृत वैकुण्ठप्रसाद सापकोटा र नेपाल अर्थोपेडिक अस्पतालका अध्यक्ष समदेन लामालगायत नगरपालिका र अस्पतालका प्रतिनिधिले हस्ताक्षर गरेका थिए ।
गोकर्णेश्वर नगरपालिका र नेपाल अर्थोपेडिक अस्पतालबीच भएको सम्झौता समुदायका लागि स्वागतयोग्य विकास भएको नगर प्रमुख दीपककुमार रिसालले बताए, “यसले ज्येष्ठ नागरिकलाई उपचारका लागि आवश्यक पर्ने सहयोग प्रदान गर्ने अपेक्षा लिएका छौं उनले भने ।“


