काठमाडौँ , १५ पुष । गोकर्णेश्वर नगरपालिकाले ज्येष्ठ नागरिक, ज्येष्ठ नागरिक परिवार, एकल महिला, अपाङ्गता भएका परिवार, राष्ट्रिय खेलाडी , किसान कार्ड भएका परिवार, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका लगायत विशिष्ट समूहलाई लक्षित गरी प्रति परिवार ५ सदस्य सम्मको स्वास्थ्य बीमा उपलब्ध गराउँने भएको छ ।
बिमा कार्यक्रममा योग्य हुनको लागि, व्यक्ति वा परिवारहरू गोकर्णेश्वर नगरपालिकाको स्थायी बासिन्दा र बीमा “कभरेज” भएको हुनुपर्छ। गोकर्णेश्वर नगर अस्पतालमा सेवा नभएको खण्डमा अन्य अस्पतालहरूमा नगर अस्पतालले सिफारिस गर्ने गरि व्यवस्था गरिएको नगरपालिकाले बतायो ।
विभिन्न अस्पतालमा उपलब्ध गराइने सेवा उपलब्ध गराउन नगरपालिकाले एक लाख रुपैयाँ शुल्क तिर्नेछ। मेयर दीपक रिसालले गोकर्णेश्वरका बासिन्दालाई आफ्नो स्वास्थ्य बीमाको अवस्थाबारे जानकारी लिएर अगाडि आउन आग्रह गरेका छन् ।
नगरपालिकाले प्रत्येक नगरपालिकाका ९ वटा वडाका लागि स्वास्थ्य बीमा बोर्डले छनोट गरेका दर्ता सहायकहरूको सम्पर्क जानकारी पनि उपलब्ध गराएको छ भने आवश्यक थप जानकारी नगरपालिकाको पैसा नलाग्ने नम्बर १६६००१३७८८८ मा सम्पर्क गर्न सकिने बताइएको छ ।


