25.1 C
Kathmandu
Saturday, April 20, 2024
- Advertisement -spot_imgspot_imgspot_imgspot_img

अख्तियार कर्मचारीको बलमा गर्न सक्लान् त मेयरले बूढानिलकण्ठमा प्रशासकीय अधिकृतको सरुवा ?

सम्बन्धित खबर

काठमाडौं, १५ मंसिर । बूढानिलकण्ठ नगरपालिकाका जनप्रतिनिधिलाई नगर विकासको चिन्ताले यसैगरी मन-मुटु नै पोलिदिन्थ्यो भने नगर काठमाडौँ महानगरसँग प्रतिस्पर्दा गर्न सक्ने हुन्थ्यो पक्कै । तर, कात्रोमा समेत कमिसन खान पल्केका जनप्रतिनिधिले अर्को कमिसनको खेलोका लागि गरेको बदमासी हेर्दा लाग्छ बेहुला भन्दा बढी जन्तीको फूर्ति फिटिक्कै सुहाएन ।

सिंगो देश चुनावी समीक्षामा रहे पनि पालिकामा सेवाग्राहीको भिड लाग्ने नै भयो तर मङ्गलबार मध्यान्ह बूढानिलकण्ठ नगरपालिकामा मेयर मिठाराम अधिकारी, भर्खर निर्वाचनमा पराजित डा. राजन भट्टराईका चाबहिल निवासी भाइ, नगर प्रवक्ता एवम् बूढानिलकण्ठ नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष नवराज भट्टराई, वडा नम्बर १२ का वडा अध्यक्ष शम्भुप्रसाद भट्टराई, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारी र केही भूमाफियाहरू भेला भएर मेयरको गोप्य कक्षमा घण्टौँ ढोका थुनी मन्थन चलेपछि यसको चर्चाले बूढानिलकण्ठ मात्रै होइन, काठमाडौँ पनि तातेको छ ।

विषय होः स्वीकृति तथा नक्सापाससमेत नभई बनिसकेको केसियल कोलोनीको । यो लगभग दुई वर्षअघिकै कुरा हो, भर्खर कोरोनाका छिटफुट बिरामी देखिन थालेको थिए देशमा । त्यही समयमा बूढानिलकण्ठ वडा नम्ब २ को कुना बँदेली (सिमलडाँडा)मा एउटा कोलोनी बन्ने तयारी गरेर डोजर लगाउन थलियो । सार्वजनिक जमिनदेखि विधि पक्ष मिचिएको थिचिएको भनेर स्थानीयले कोलोनी निर्माताबिरूद्ध आवाज पनि उठाएर, वडा कार्यालय गए । स्थानीय समाचार माध्यममा समाचार पनि प्रकाशित भए ।

वडाध्यक्षलगायतको टिम पुगेर त्यहाँ निरीक्षण पनि नभएको होइन । कोलोनी निर्माणकर्ताले विरोधका बावजुद आफ्नो काम छाडेन । नियम मिचेको कुराले उसलाई काम गर्न कसैले रोकेन । उसले आफ्नो काममा तिव्रता दिइरह्यो । कोलोनी वा हाउजिङलाई वडाले एकदुईपटक पत्र पनि काट्यो तर तर एकदुई दिन डोजर लगाउन बन्द गरे झैँ गरेर वडा सरकारको पत्र पनि रद्दीको टोकरीमा फालियो । काम फेरि सुरु भयो र अहिले कोलोनी ठडियो ।

तत्कालीन मेयर उद्धव खरेल नेतृत्वले कोलोनीका घर स्वीकृति नलिइकन बनाउन पाइन्न भनेर रोक्न सकेन या रोक्न चाहेन । स्थानीयको विरोध पनि नसुने झैँ भयो । सार्वजनिक जग्गा र कुलोसमेत सेटिङमा कोलोनीको भयो । तत्तकालीन मेयर उद्धव खरेल नेतृत्वका सार्वजनिक विकास निर्माण सल्लाहकार, हालका मेयर मिठाराम अधिकारी, नगरपालिकाका पूर्व र वर्तमानमा समेत नगर प्रवक्ता रहेका नवराज भट्टराईले पनि नगरबासीलाई सत्यतथ्य जानकारी दिन जरुरी ठानेनन्, सत्यका पक्ष लिए पनि नलिए पनि चुनाव जितिन्थ्यो क्यारे, चुनावअघि व्यापारी चिढाउनु आफ्नै आङ काउसोमा रगड्नु झैँ पनि पर्न गयो होला प्रवक्तालाई पनि ।

नगरपालिकाले यो विषयमा कुनै सुनुवाई नगर्ने अनि कोलोनी बनिरहने काम भएपछि स्थानीयले अख्तियारमा उजुरी हाले । कोलोनीमा १०–१२ थान घर ठडिइसकेको छ । फिनिसिङ भएर बिक्रीका लागि तयार भैसकेको छ । मंगलबार यही विषय बुझ्न मेयर, १० र १२ का वडा अध्यक्षको टोली स्थानीय बूढानिलकण्ठ नगरपालिका वडा नम्बर २ का वडाअध्यक्षलाई सुइँको समेत नदिई बँदेली (सिमलडाँडा) पुगेर आएको थियो । विगतमा अख्तियार गुहार्ने र अहिले कमिसन पाइन्छ भनेर केसियलको फाइल बोकेर नगरपालिका दौडने नेकपा एमालेका क्षेत्रीय अध्यक्ष विधुरबिक्रम खड्काको सेटिङमा उनीहरु निरीक्षण गएको एमालेस्रोतको दाबी छ ।

के भएको थियो छलफलमा ?

समाचार स्रोतका अनुसार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पटकपटक ताकेदा गर्न थालेपछि विगतको बदमासीबाट बच्ने उपाय खोज्न उनीहरुले मेयरको गोप्य कार्यकक्षमा चुकुल लगाएर घण्टौँ गोप्य वार्तालाप गरेका थिए ।

छलफलमा कोरोनाकाललाई देखाई केसियल कोलोनीको रोकिएको नक्सापास गराउने एवम् स्थानीय कानुनको केही छिद्रलाई टेकेर स्थानीयलाई देखाउन केही रकम जरिवाना गराउने छलफल भएको थियो । तर, यो सब गर्न कर्मचारीहरु राजी भएका छैनन् । त्यसैले प्रमुख प्रशासकीय अधिकृत भुवनेश्वर लामिछाने हटाउने र अर्को कार्यकारी ल्याउनेसमेत छलफल भएको बताइन्छ ।

किन घाँडो भए प्रमुख प्रशासकीय अधिकृत ?

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुवनेश्वर लामिछाने तत्तकालीन कपन गाविस सचिवका रुपमा काम गरिसकेका व्यक्ति हुन् । तत्कालीन गाविस सचिव हुँदाको अनुभवले अहिलेका जनप्रतिनिधि राजनीतिक दल एवम् स्थानीयसँग उनको पहुँच जनप्रतिनिधिहरुको भन्दा राम्रो छ । उनी सचिव हुँदादेखि नै कपनमा उनको मुद्धा सार्वजनिक जग्गा संरक्षण थियो । त्यसैअनुरुप उनकै पालामा कपनस्थित ह्यान्डबल खेलमैदानको सार्जवजनिक जग्गामा तारजाली लगाउने काम भयो । पछि त्यही सार्वजनिक जग्गामा भूमाफियाको गिद्धे नजर पर्यो ।

यतिबेला भने जनप्रतिनिधि वडाअध्यक्ष नवराज भटराई थिए । उनले त्यतिबेला पनि भूमाफियाले जग्गा नमिचिएको र आफूलाई बदनाम गर्न मिडिया परिचालित भएको अभिव्यक्ति दिएका थिए । स्थानीय समाचारमाध्यमको लगातारको खबरदारीका बीचमा तीन रोपनी सार्वजनिक जग्गा मिचिएको प्रमाणित भयो । अहिले तिनै भूमाफियाबाट जोगिएको जमिनसमेत प्रयोग गरी त्यहाँ सुविधासम्पन्न खेलमैदान बन्दैछ ।
लामिछाने प्रमुख प्रशासकीय अधिकृत भएर नगरपालिका आउँदा केसियलको विषय अख्तियार पुगिसकेको थियो । अख्तियारले नगरपालिकालाई घटनाको यथार्थ विवरण माग गरेपछि लामिछानेले अख्तियारलाई केसियलको बदमासी भएको खुलासा गर्दै पत्रको जवाफ पठाएका थिए । काठमाडौँका स्थानीय भएका कारण आर्थिक चलखेलबाट उनी ठेगान नलाग्ने देखेपछि उनलाई सरुवा गराउने र आफूअनकुलको कर्मचारी प्रमुख ल्याएर केसियलकाण्ड सल्टाउने मुडमा जनप्रतिनिधि पुगेका हुन् ।

के हो केसियल कोलोनी ?

हामीले यस विषयमा खोजी गर्दा केसियल कोलोनी डटकम वेबसाइट भेट्यौँ । हात्तिसार (नजिकै चाइनिज एम्बेसी) ठेगाना राखिएको हुँदा घटनाको विवरण बुझ्न त्यहाँ पुगेका थियौँ । तर, त्यहाँ कुनै त्यस्तो कम्पनी भेटिएन । वेबसाइटमा राखिएको फोन नम्बरमा सम्पर्क गर्दा फोनमा आगमन कल निषेध गरिएको नेपाल टेलिकमको सन्देश सुनिन्छ । यसैगरी, केही समय पहिला केसियल भनेर फेसबुक पेज खोलेर घर बिक्रीमा भनेर विज्ञापन गरिएको थियो । तर हाल फेसबुक पेज पनि डिलिट गरिएको पाइएको छ ।

यो विषयमा हाम्रो खोज जारी छ । बदमासीविरुद्ध यहाँहरुको साथ जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

Ratosurya TV
खबर छर्लंङ्ग

भर्खरै

विशेष