भदौ ३०, हेटौँडा। हेटौँडा उपमहानगरपालिका क्षेत्रमा लामखुट्टेको टोकाईबाट लाग्ने डेंगु रोगका बिरामि बढ्दै गएपछि थालिएको स्प्रे अभियान निरन्तर चलिरहेको छ ।
डेंगुको संक्रमण दर बढ्दै गएपछि हेटौँडा उपमहानगरपालिकाले सुरु गरेको स्प्रे अभियान नगरका विभिन्न वडाहरुमा चलिरहेको उपमहानगरपालिका कार्यालयले जनाएको छ ।
उपमहानगरपालिकाको जनस्वास्थ्य शाखाको अनुसार अहिले सम्म १, २, ३, ४, ५, १८ र १९ नम्बर वडामा डेंगु नियन्त्रणका लागि नगरपालिकाले नियमितरुपमा स्प्रे गर्दै आएको छ । रोगको दर बढ्दै गएपछि हामीले नगर प्रहरीको सहयोगमा स्प्रे अभियानलाई एक महिनादेखि निरन्तर सञ्चालन गरीरहेको नगर प्रमुख मीनाकुमारी लामाले बताइन् ।
मकवानपुरमा डेंगु संक्रमणको संख्या क्रमशः बृद्धि भइरहेको छ । स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार बुधबार १ सय २४ जनामा डेंगु संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेमा सबभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाका १ सय १४ जना छन् । मकवानपुरगढी गाउँपालिकाका १, थाहा नगरपालिकाका ५, भीमफेदी गाउँपालिकाका १ र मनहरी गाउँ पालिकाका ३ जना संक्रमित रहेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
बुधबार थपिएका १ सय २४ सँगै मकवानपुरमा डेंगु संक्रमितको संख्या १ हजार ४ सय ६ पुगेको छ । जसमध्ये ५ सय ५७ महिला छन् । पछिल्ला दिनहरुमा तीव्ररुपमा डेंगु संक्रमित बढेका छन् । हेटौँडा उपमहानगरपालिका आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाका जनस्वास्थ्य अधिकृत भोला चौलागाईंका अनुसार संक्रमण बढ्दै गएपछि लामखुट्टेका लार्भा तथा अन्य जीवाणु नष्ट गर्ने गरी औषधि छर्कन थालिएको हो ।
संक्रमण फैलन नदिन जनस्तरमा मट्टीतेल प्रयोग गरी लार्भा नष्ट गर्न सचेतनासँगै बढी जोखिम रहेका क्षेत्रमा उपमहानगरले स्प्रे गर्न थालेको उनले जानकारी दिए । संक्रमण फैलिएका वडाको जोखिमपूर्ण क्षेत्र पहिचान गरी आवश्यकतानुसार संक्रमण नियन्त्रण अभियान सञ्चालन गरिने जनस्वास्थ्य अधिकृत चौलागाईंले बताए । नगरमा लामखुट्टेको टोकाइबाट हुने डेंगुका बिरामीको संख्या पनि बढ्दै गएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
असार अन्तिमबाट सुरु भएको संक्रमणदर बिस्तारै बढ्दै गएको कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए । जिल्लाका १० स्थानीय तहमध्ये हेटौंडा उपमहानगरका बजार क्षेत्रमा पर्ने ४ र ५ वडामा बढी बिरामी देखिएको कार्यालयले जनाएको छ । अन्य स्थानीय तहमा केही संख्यामा डेंगु संक्रमित देखिए पनि नगरभित्र देखिनुले समस्या भएको कार्यालयले जनाएको छ । बिरामीको संख्या बढ्दै जानुले सतर्कता, सुरक्षा तथा सचेतना आवश्यक रहेको बताइएको छ । संक्रमितको हेटौंडा अस्पतालमा उपचार भइरहेको कार्यालयले जनाएको छ ।


